काठमाडौं । सुनको मूल्यमा हरेक दिन नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज तोलामा ४०० ले उकालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आइतबार प्रतितोला १ लाख ५८ हजार ८०० मा कारोबार भएकोमा आज १ लाख ५९ हजार दुई सय निर्धारण भएको छ ।
यस्तै, चाँदीको मूल्य भने स्थिर छ । आइतबार प्रतितोला रु एक हजार नौ सय २० मा कारोबार भएको चाँदी आजका लागि पनि समान मूल्य निर्धारण गरिएको छ ।
नेपाल राष्ट्र बैंकले अन्तर्राष्ट्रिय बजारमा कायम मूल्यको आधारमा सुनको मूल्य निर्धारण गर्छ । राष्ट्र बैंकले तोकेको मूल्यका आधारमा महासंघले नेपाली बजारमा सुनको मूल्य कायम गर्छ ।
सोमबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ६ सय ३० दशमलव ९९ डलरमा कारोबार भइरहेको छ । जुन पछिल्लो ६ महिनामा करिब ४ सय ५० डलर अर्थात् २० दशमलव ६३ प्रतिशतले बढेको छ ।
मध्यपूर्व र रुस र युक्रेनबीच द्वन्द्व बढ्नुका साथै संयुक्त राज्य अमेरिकाको फेडरल रिजर्भले गत बुधबार चार वर्षपछि ब्याजमा ०.५ प्रतिशत बिन्दुले कटौती गरेको छ। विज्ञहरुले सुनको मूल्य चाँडै नै प्रतिऔंस ३ हजार अमेरिकी डलर सम्म पुग्न सक्ने अनुमान गरेका छन् ।