काठमाडौं । गत शुक्रवारयता दिनहुँ नयाँ कीर्तिमान कायम गरेको सुनको भाउमा आज पनि रेकर्ड बनेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बुधवार) सुनको भाउ प्रतितोला १ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको छ। नेपाली बजारमा यो मूल्य हालसम्मकै उच्च हो ।
गत मंगलबार भने सुन प्रतितोला १ लाख ५९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । अन्तरराष्ट्रिय बजारमा लगातार सुनको मूल्यवृद्धि भएपछि त्यसको प्रभाव स्थानीय बजारमा परेको सुनचाँदी व्यवसायीहरू बताउँछन् ।
मध्यपूर्व र रुस-युक्रेनबीच द्वन्द्व बढ्नु, संयुक्त राज्य अमेरिकाको फेडरल रिजर्भले ब्याजदरमा ०.५ प्रतिशत बिन्दुले कटौती गर्नुलगायत कारणले डलर कमजोर भएर सुनको भाउ बढेको व्यवसायीहरूको भनाइ छ ।
यसको प्रभाव स्थानीय बजारमा मात्रै होइन, अन्तरराष्ट्रिय बजारमा समेत परेको छ । पछिल्लो समय अन्तरराष्ट्रिय बजारमा पनि सुनको मूल्य उकालो लागेको छ ।
बुधवार दिउँसो अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ६५७ दशमलव ३४ डलरमा कारोबार भइरहेको छ, जुन पछिल्लो ६ महीनामा २१ दशमलव ९६ प्रतिशतले बढेको हो ।
यस्तै, चाँदीको मूल्य आज तोलामा ४० रुपैयाँले बढेको छ । मंगलवार १ हजार ९१५ रुपैयाँ कारोबार भएको चाँदी बुधवार प्रतितोला १ हजार ९५५ रूपैयाँमा कारोबार भइरहेको छ ।