काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एकै दिन तोलामा १ हजार ५०० रुपैयाँले बढेको छ । सोमवार प्रतितोला १ लाख ६७ हजार रुपैयाँमा कारोबार भएकोमा मंगलवार मूल्यमा नयाँ कीर्तिमान बनाउँदै १ लाख ६८ हजार ५०० रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा चाँदीको मूल्य पनि बढेको छ । सोमवार प्रतितोला २ हजार ६५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ४० रुपैयाँले बढेर २ हजार १०५ नेपाली रुपैयाँ कायम भएको छ ।
आज अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ७५५.२६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
हिन्दू नेपालीहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रूपमा आरम्भ हुँदैछ । कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज धनतेरस पनि हो । सुन, चाँदी र अन्य बहुमूल्य धातुको खरीदका लागि धनतेरस शुभ मानिन्छ ।
व्यापारीहरूले यस दिन सबैभन्दा बढी खरीदविक्री गर्छन् । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष दिव्येशरत्न शाक्यका अनुसार यस दिन करीब ६० किलो सुनका गहना र एक दशमलव चार टन चाँदी विक्री हुने अनुमान छ ।
'पछिल्लो समय व्यापारीले दैनिक ५० किलो सुनका गहना विक्री गर्दै आएका छन्,' शाक्यले भने, 'धनतेरसको अवसरमा थप १० किलो विक्री हुने अनुमान गरेका छौं ।'
तर, पछिल्लो समय सुनको कारोबार घटेको व्यापारीहरूको भनाइ छ । विवाहको मौसमसँगै स्थितिमा सुधार आउने उनीहरूको अपेक्षा छ । मंसिरको मध्यदेखि विवाहका लागि वर्षकै उत्तम समय मानिन्छ ।
भन्सार विभागको तथ्याङ्कअनुसार यस आर्थिक वर्षमा सुनको आयात निरन्तर ओरालो लागेको छ । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा रू. एक अर्ब चार करोड मूल्य बराबरको करीब १०० किलो सुन आयात भएको छ भने गत आवको सोही अवधिमा रू. सात अर्ब ३५ करोड बराबरको करीब ९०० किलो सुन आयात भएको थियो ।
विगत तीन वर्षदेखि सुनको आयात परिमाणका हिसाबले ८२ प्रतिशत र आयात मूल्यका आधारमा ७६ प्रतिशतले घटेको भन्सार विभागका अधिकारीहरूले बताएका छन् । विभागका एक उच्च अधिकारीले नाम नबताउने शर्तमा भने, 'सुन आयात घट्दा सरकारको राजस्व ६९ प्रतिशतले घटेको छ ।
व्यापारीहरूले सुनको आयातमा आएको गिरावटका कारण सुनको मूल्य बढेको र भन्सार दरमा भिन्नताका कारण भारतमा सस्तो मूल्य रहेको बताएका छन् । नेपाल–भारत सीमा आसपासका बासिन्दाले भारतीय बजारबाट सुन ल्याउन रुचाउने गरेको भन्दै दुवैतर्फ करीब २० हजार रुपैयाँको फरक रहेको दाबी गरेका छन् ।
यस वर्ष विश्वव्यापी अनिश्चितताका बीच बुलियनको मूल्यले रेकर्ड तोडिरहेको छ। अन्तरराष्ट्रिय बजारमा विगत १२ महीनामा एक औंस सुनको मूल्य ४१ प्रतिशतले महँगो भएको छ । र, यसको मूल्य करीब १ हजार ९५० डलरबाट बढेर २ हजार ७५० डलर पुगेको छ ।
मध्यपूर्वमा बढ्दो द्वन्द्व, रुस–युक्रेन युद्ध, विभिन्न देशमा केन्द्रीय बैंकहरूले ब्याजदर कटौती गरेको र अमेरिकी राष्ट्रपतीय निर्वाचनजस्ता विभिन्न अन्तरराष्ट्रिय कारणले सुनको रेकर्ड तोड्ने क्रम बढेको उद्योगका जानकारहरूले बताएका छन् । यी घटनाहरूले लगानीकर्ताहरूलाई सुरक्षित आश्रयस्थलको रूपमा बुलियनतर्फ प्रेरित गरेको छ, जसले यसलाई डलरभन्दा महँगो बनाएको छ, उनीहरू भन्छन्। निकट भविष्यमा सुनको मूल्य प्रतिऔंस ३ हजार अमेरिकी डलर नाघ्ने अनुमान गरिएपछि मूल्यमा वृद्धि भएको हो ।
अन्तरराष्ट्रिय प्रवृत्ति कायम रहेमा आन्तरिक बजारमा सुनको मूल्य प्रतितोला रू. एक लाख ८० हजार नाघ्न सक्ने शाक्यले गत महीना टिप्पणी गरेका थिए । त्यस्तो अवस्थामा ज्याला र अन्य शुल्क थप्दा सुनका गहनाको मूल्य तोलाको करीब रू. दुई लाख पर्छ ।