काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिएसँगै सुनचाँदी बजारमा उत्साह देखिएको छ । केही वर्षयता आर्थिक सुस्तीका कारण खस्किएको सुनचाँदी बजारलाई यसपालिको तिहारले उकास्ने भएको हो ।
व्यवसायीका अनुसार तिहारको तीन दिन अर्थात् धनतेरसदेखि लक्ष्मीपूजासम्म सुनचाँदीको कारोबार बढ्छ । धनतेरसका दिन सुन किन्दा राम्रो हुने भएकाले पनि किनमेल गर्नेको भीड सुनचाँदी बजारमा लागिरहेको छ । व्यवसायीका अनुसार यो तिहारसम्म नेपालभर ५०० किलो सुनको गरगहना विक्री हुन सक्छ ।
रिद्धिसिद्धि ज्वेलर्सका सञ्चालक नरेन्द्र गुप्ताले गतवर्ष २–३ किलो अर्थात् ४ करोड रुपैयाँ बराबरको सुनको गरगहना धनतेरसकै दिन बेचेको बताए । यो वर्ष सुनको भाउ उच्च रहेकाले १० करोड बराबरको हुने अभियानलाई बताए । ‘एक महीनादेखि नै बुकिङ भएको छ,’ उनले भने, ‘तिहारका बेला अन्दाजी ६ किलो रिद्धिसिद्धिले नै बेच्ने हाम्रो अनुमान छ ।’ यस्तै चाँदी देशभर ५ हजार किलोभन्दा बढी विक्री हुने उनले बताएका छन् ।
सुनचाँदी यसपटक पर्याप्त भने छैन । धनतेरसको दिनसम्मका लागि ‘अर्डर’ गरेकालाई उपलब्ध गराउन सकिने, त्यसपछि आउने अर्डर तिहारपछि मात्र दिन सकिने व्यवसायीको भनाइ छ । ‘पहिला धनतेरसको दिनपछि तीन दिनसम्म लगातार सुनचाँदी बेच्न सकिन्थ्यो, तर अहिले स्टक कम भएकाले सो दिनमात्र बेच्न सकिनेछ,’ गुप्ताले बताए ।
यसपटक अस्वाभाविक माग बढेकाले पनि बजारमा सुनको स्टक सकिएको व्यवसायीको भनाइ छ । विश्वभर अन्य क्षेत्रमा लगानी सुरक्षणको प्रत्याभूति नभएकाले पनि सुनचाँदीमा आकर्षण बढिरहेको गुप्ताले बताए ।
सुनचाँदी व्यवसायी महासंघले पनि यसपटकको तिहारमा सुनचाँदीको व्यापारमा चमक छाएको बताएको छ । महासंघका वरिष्ठ उपाध्यक्ष दियसरत्न शाक्यले पछिल्लो एक सातामा चाँदी दैनिक ५०० केजी विक्री भइरहेको बताए । मंगलवार धतनेरस परेकाले सोही दिनमा मात्रै १ हजार ४०० सय किलो चाँदी विक्री हुने महासंघको अनुमान छ । यस्तै यो दिन सुनका गरगहना ६० केजी विक्री हुने अनुमान शाक्यले गरे । ‘दैनिक ५० किलो सुनका गरगहना विक्री गइरहेको छ, धनतेरसका दिन थप १० किलो जाने अनुमान छ,’ शाक्यले भने ।
धनतेरसमा सुनभन्दा चाँदीको खरीदविक्री बढी हुन्छ । तुलनात्मक रूपमा सुनभन्दा सस्तो भएका कारण चाँदीका सिक्का, औंठी, बाला, पूजाका भाँडा, पञ्चपात्रो, कलश, मूर्तिलगायतको विक्री बढ्ने गरेको छ ।
धनतेरसकै दिन करोडौंका सिक्का विक्री हुने महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए । दशैंको तुलनामा व्यापार सन्तोषजनक देखिएको उनको भनाइ छ । ‘झिलीमिली र लगानी बढी भएको ठाउँमा व्यापार राम्रो देखियो । भित्री क्षेत्रमा केही कम व्यापार भएको छ । धरान, चितवन, जनकपुर, पोखरालगायत सबै ठाउँको अवस्था उस्तै हो,’ पूर्वअध्यक्ष शाक्यले भने, ‘समग्रमा धनतेरसले व्यापार राम्रै गराउनेछ । व्यवसायी निराश हुनुपर्ने अवस्था छैन ।
हरेक दिन बढेको मूल्य तोकिए पनि लामो समयदेखि कारोबार भने सुस्ताएको पूर्वअध्यक्ष शाक्यको भनाइ छ । ‘दशैं अघिसम्म विवाह, व्रतबन्धमा एक/दुई दिन केही परिमाणमा किनबेच भए पनि अन्य दिनमा कारोबार ठप्पप्राय: थियो,’ उनले भने, ‘तिहारले कारोबार बढाएको हो ।’ उनका अनुसार तिहारपछि बिहेको लगन शुरू भएकाले व्यापार बढ्न सक्छ ।
यद्यपि अघिल्ला महीनाहरूको स्थिति हेर्ने हो भने सुनचाँदीको आयात निकै घटको छ । भन्सार विभागको तथ्यांकअनुसार पनि सुनको आयात गत आर्थिक वर्षको प्रथम त्रैमासिक अवधिमा ९०० किलो भएकोमा चालू आर्थिक वर्षको सोही अवधिमा १०० किलोमा झरेको छ ।
यो वर्ष मात्र नभई पछिल्लो तीन वर्षदेखि यसरी नै सुनको आयात घटेको छ । परिमाणको हिसाबले ८२ प्रतिशत सुनको आयात घट्दा पनि आयातित मूल्यको हिसाबले भने ७६ प्रतिशतले घटेको भन्सार विभागका अधिकारीहरूको भनाइ छ । ‘सुनको आयातबाट उठ्ने राजस्व ६९ प्रतिशतले घटेको छ,’ भन्सार विभागका एक उच्च अधिकारीले भने ।
यसरी परिमाणात्मक रूपमा सुनको वैधानिक आयात घट्नुको प्रमुख कारण अधिक मूल्य वृद्धि हुनु रहेको व्यवसायीहरूको भनाइ छ । उनीहरूका अनुसार नेपालमा भन्दा भारतमा सुनका गरगहना सस्तो भएकाले पनि धेरै माग उतै हुने गरेको छ । सीमावर्ती क्षेत्रका धेरैजसो नागरिकले भारतीय बजारबाट सुनका गरगहना आयात गर्ने गरेको महासंघका वरिष्ठ उपाध्यक्ष शाक्यको भनाइ छ । ‘धेरैपटक राज्यलाई भन्यौं, तर भन्सार दर समान बनाउन सरकारले चासो देखाएन,’ उनले भने ।
उनका अनुसार अहिले भारतको सीमावर्ती बजार र नेपाली बजारबीच एक तोला सुनको मूल्यमा २० हजार रुपैयाँसम्म अन्तर (भारतमा सस्तो) पर्ने गरेको छ । विगतमा समान रहेको सुनको भन्सार अहिले भारतमा ६ प्रतिशत छ भने नेपालमा २० प्रतिशत पुगेको छ । यसले सुनचाँदी बजारमा चाडपर्व बाहेकको समयमा ठूलो असर पार्दै आएको छ ।
सुनको आयात (पहिलो त्रैमास) | ||
आर्थिकवर्ष | परिमाण(ग्राम) | रकम (रू.) |
२०८०/८१ | ९००५०० | ७ अर्ब ३५ करोड |
२०८१/८२ | १००१५५ | १ अर्ब ४ करोड |