नेपाली बैंक तथा वित्तीय संस्थाले सुन धितोमा दिने कर्जामा उच्च वृद्धि गरेका छन् । उद्योगधन्दामा कर्जा दिनभन्दा प्रक्रियागत भन्झट र जोखिम दुवै कम हुने भएपछि बैंकले सुनचाँदी धितोमा कर्जा बढाउनु स्वाभाविक पनि हो । किनभने बैंक तथा वित्तीय संस्थाहरूले लगानीका लागि अहिले कम जोखीम हुने र बढी प्रतिफल प्राप्त हुने क्षेत्र देखिएको छैन ।
त्यसो हुँदा बैंकहरूले सजिलो बाटो रोजेका हुन् । अर्कातिर, यसले सुनचाँदीमा लगानी गर्ने र त्यही सुन बैंकमा धितो राखेर पुन: कर्जा लिने क्रम बढेकोतर्फ पनि संकेत गर्छ । वास्तवमा सुनमा भएको लगानी व्यक्तिका लागि लाभदायक भए पनि समाजका लागि उत्पादनमूलक नहुने हुँदा त्यसले अर्थतन्त्रमा त्यति ठूलो लाभ दिँदैन । पछिल्लो समय मुलुकमा उत्पादनमूलक क्षेत्रमा नयाँ लगानी हुन सकेको छैन । नेपाल राष्ट्र बैंकले कृषि र जलविद्युत् क्षेत्रमा लगानी बढाउन बैंकहरूलाई निर्देशन दिएको छ ।
(सम्पादकीयबाट) वर्ष ८, अंक ८५, बिहीवार २८ मङ्सिर, २०६९