निर्माणको थालनी भएको ५३ महीनापछि नागढुंगा–सिस्ने खोलाको मुख्य सुरुङमार्ग छिचोलिएको छ । सोमवार यो सुरुङमार्ग छिचोलिएसँगै नेपालले सडक यातायातमा एउटा नयाँ उपलब्धि प्राप्त गरेको छ । यद्यपि यो सुरुङमार्ग उपयोगमा आउन भने अझै १ वर्ष कुर्नुपर्ने देखिन्छ ।
नेपालजस्तो पहाडी भौगोलिक बनोट भएको मुलुकमा सडक निर्माण खर्चिलो हुनुका साथै यात्राको अवधि पनि लामो हुने गरेको छ । यस्तो भौगोलिक बनोट भएको ठाउँमा सुरुङ निर्माणले सडकको यात्रा अवधि, लागत घटाउन र मोटरको आयु बढाउनसमेत सहयोगी हुन्छ । यसले राष्ट्रिय अर्थतन्त्रमा निकै ठूलो योगदान दिन्छ ।
अहिले सिद्धार्थ राजमार्गको सिद्धबाबामा अर्को सुरुङमार्ग निर्माणाधीन छ भने मुलुकका विभिन्न स्थानमा आधा दर्जन सुरुङमार्गको अध्ययन भइरहेको छ । अहिले नेपालमा सुरुङमार्गको लहर नै चलेको जस्तो देखिन्छ । तर, यो प्राविधिक रूपमा चुनौतीपूर्ण र लागतका हिसाबले महँगो पनि हुन्छ । त्यसैले कतिपयले आधा घण्टाको यात्रा अवधि घटाउन यति धेरै खर्च आवश्यक थिएन भनेर आलोचना पनि गरेका छन् ।
तर, नेपालले आफ्नो औकातले भ्याएसम्म सुरुङमार्ग बनाएर यातायात सेवा छिटो छरितो बनाउन जरुरी छ । धेरै लागत लाग्ने भएकाले यस्ता सडक बनाउन कसरी निजीक्षेत्रलाई आकर्षित गर्ने भन्ने निश्चित नीति तथा कानूनहरू पनि बन्नु जरुरी छ ।
नेपालमा निजीक्षेत्रलाई सडक र सुरुङमार्ग बनाउन दिने र टोलमार्फत त्यसको लाभ लिन सक्ने गरी सडक निर्माणको मोडल बन्न सक्छ । यसो भयो भने सडकजस्तो ठूला पूर्वाधार पनि निजीक्षेत्रबाट निर्माण हुन सक्छन् ।
नेपालमा सुरुङमार्ग आवश्यक पर्नुको अर्को कारण पनि छ । त्यो हो : जग्गा अधिग्रहणसम्बन्धी विवाद कम हुनु । नागढुंगा सिस्ने सुरुङमार्गमा पनि प्रवेश विन्दुमा दुवैतर्फ जग्गासम्बन्धी विवाद नभएको होइन । स्थानीयले अवरोध पनि पुर्याएका हुन् तैपनि सुरुङमा यस्तो विवाद निकै कम हुन्छ । त्यसैले नेपालमा सुरुङमार्गको निर्माण आवश्यक छ । यसका लागि विगतमा प्राविधिकहरूको शून्यजस्तै थिए भन्दा हुन्छ । तर, नागढुंगा सिस्ने सुरुङमार्ग निर्माणमा खटिएका इन्जिनीयरलाई विशेष तालीम दिइएको छ र अब उनीहरू अन्य क्षेत्रमा सुरुङमार्ग निर्माणमा काम गर्न सक्नेछन् । त्यसैले यो सुरुङ नेपालका लागि विशेष महत्त्वको छ भन्न सकिन्छ ।
अर्को, नेपालमा हालसम्म पनि टोल शुल्क तिरिने सडकहरू बनेका छैनन् । यस्तो सडक भएर यात्रा गर्दा सवारीधनीले निश्चित शुल्क तिर्नु हो । सरकारले सडक कर लिन्छ, त्यो बेग्लै हो । तर, खासखास सडकमा टोल अर्थात् शुल्क तिरेर मात्रै यात्रा गर्न पाइन्छ र संसारभरि यसको प्रचलन छ । यो सुरुङमार्गबाट यात्रा गर्न पनि टोल शुल्क तिर्नुपर्छ । यसले नेपालमा टोल सडक निर्माणका लागि सहयोग गर्ने देखिन्छ । त्यसो त काठमाडौंलाई तराईसँग जोड्ने द्रुतमार्ग पनि टोलको अवधारणामा नै बनेको हो । तर, यो सुरुङमार्ग पहिले बन्ने देखिन्छ । यसले नेपालमा निजीक्षेत्रलाई सडक र सुरुङमार्ग बनाउन दिने र टोलमार्फत त्यसको लाभ लिन सक्ने गरी सडक निर्माणको मोडल बन्न सक्छ । यसो भयो भने सडकजस्तो ठूला पूर्वाधार पनि निजीक्षेत्रबाट निर्माण हुन सक्छन् ।
सरकारले यही वैशाख १६ र १७ गते लगानी सम्मेलन गर्दै छ । त्यो सम्मेलनमा यस्ता टोल सडक पनि राखिनु उपयुक्त हुन्छ । नेपालमा त्यससम्बन्धी कानून बनिसकेको अवस्था छैन । त्यसो हुँदा सरकारले बेलैमा यससम्बन्धी नियमकानून बनाइहाल्नुपर्छ ।
नेपालका सडकहरू ज्यादै घुमाउरा, असुरक्षित र मर्मतसम्भार नगरिएका पाइन्छन् । त्यस्तै सडकको सुरक्षा अडिट पनि खासै गरिएको छैन । त्यसैले नेपालमा सडक दुर्घटनामा मर्नेको संख्या डरलाग्दो रूपमा बढिरहेको छ । यो संख्या घटाउने सरकारको लक्ष्य पूरा हुन सकेको छैन । यस्तोमा सडक निर्माणमा नयाँनयाँ प्रविधि ल्याउन आवश्यक हुन्छ । त्यसका लागि पनि यो सुरुङमार्ग एउटा उदाहरण बन्न सक्छ ।