काठमाडौं। पूर्व नम्बर एक प्रो गल्फर भुवन नगरकोटी रेकर्ड स्कोरसहित सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको चौंथो प्रतियोगिता ‘सूर्य नेपाल वेस्टर्न ओपन’को उपाधि जितेका छन् । पोखरास्थित पार–६९ को हिमालयन गल्फ कोर्समा अन्तिम दिन शुक्रवार इभन–पार ६९ को स्कोर निकाल्दा भुवनले समग्रमा १०–अन्डर १ सय ९७ को सानदार स्कोरमा करियरको एघारौं उपाधि जितेका हुन् । उपाधिसँगै भुवनले १ लाख ४० हजार रुपैयाँ नगद पुरस्कार हात पारे ।
रवि खड्का र एमेच्योर सद्भाव आचार्यले समग्रमा २–ओभर २ सय ९ को स्कोरमा दोस्रो स्थान बाँडे । रविले नगद ९६ हजार रुपैयाँ प्राप्त गरे भने एमेच्योरतर्फ सद्भावले उपाधि जितेका छन् । उनले प्रज्वल गुरुङलाई १३ स्ट्रोकले हराउँदै उपाधि जितेका हुन् । दोस्रो भएका प्रज्वलले १५–ओभर २ सय २२ स्कोर गरे ।
धरानका प्रो निरज तामाङले तेस्रो स्थान प्राप्त गर्दैै ७२ हजार रुपैयाँ प्राप्त गरे । भेट्रान प्रो दीपक मगरले प्रतियोगितामा चौथो भएर ५९ हजार रुपैयाँ हात पारे । पाँचौं भएका प्रदीप कुमार लामाले ५० हजार रुपैयाँ प्राप्त गरे । कुल ८ लाख ४० हजार रुपैयाँ पुरस्कार राशी रहेको प्रतियोगिताका विजयी खेलाडीलाई सूर्य नेपाल प्रालिका ब्रान्ड म्यानेजर विदुरराज अधिकारी, गण्डकी प्रदेश गल्फ संघका अध्यक्ष इन्द्रधारा बिष्ट, कास्की जिल्ला गल्फ संघका अध्यक्ष जीवराम गुरुङ र गण्डकी प्रदेश खेलकुद विकास परिषद्का बोर्ड सदस्य केशव पाठकले पुरस्कार वितरण गरेका थिए ।