काठमाडौं । तीन कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ । सूर्यज्योति लाइफ इन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट र फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज हो ।
सूर्यज्योति र एनआरएनले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि अर्थात् मंसिर २१ गते बुकक्लोज गर्दैछन् भने फर्स्ट माइक्रोफाइनान्सले मंसिर २३ गते बुकक्लोज गर्दैछ । यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम सम्बन्धित शेयरधनीहरूले यी कम्पनीहरूको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरूले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
सूर्यज्योति लाइफ इन्स्योरेन्सले पुस ६ गते विराटनगरस्थित बिग होटलमा सत्रौं वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान १० बजे शुरु हुनेछ ।
सभाले हाल कायम चुक्तापूँजीको २० प्रतिशतका दरले नगद लाभांश (करसहित) वितरण गर्ने, सञ्चालक समितिमा संस्थापक शेयरधनीका तर्फबाट रिक्त सञ्चालक पदमा भएको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पारित गर्नेछ ।
त्यस्तै एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले हाल कायम चुक्तापूँजीको ५ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ । त्यसैगरी, कम्पनीले बोनस वितरणपश्चात कायम चुक्तापूँजीको शतप्रतिशत अर्थात् एक बराबर एक अनुपातमा हकप्रद शेयर निष्कासनको लागि सभामा प्रस्ताव पेश गर्ने भएको छ ।
कम्पनीले आगामी १२ औं वार्षिक साधारण सभा पुस १२ गते, शुक्रबार बिहान ९ बजे बोलाएको छ । सभा आम्रपाली व्यान्क्वेट, थिरबम काठमाडौंमा हुनेछ ।
त्यसैगरी, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले पुस ११ गते काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा पन्ध्रौं वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान १० बजे शुरु हुनेछ ।
सभाले हाल कायम चुक्तापूँजीको ९ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव ४७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
सभाले अधिकृत, जारी तथा चुक्तापूँजी वृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन र मर्जर तथा एक्विजिशनसम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, सर्वसाधारण शेयरधनीको तर्फबाट ३ जना सञ्चालकहरूको निर्वाचन गर्ने लगायतका प्रस्तावहरू पनि पारित गर्नेछ ।