काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ५९ दशमलव ७५ प्रतिशत वृद्धि भएको छ ।
कम्पनीले गत आवमा रू. २ करोड ३४ लाख नाफा कमाएकोमा चालू आवमा बढेर रू. ३ करोड ७५ लाख पुगेको छ । चालू आवमा कम्पनीको सञ्चालन नाफा र खुद ब्याज आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । खुद ब्याज आम्दानी गत आवको तुलनामा चालू आवमा १९ दशमलव २० प्रतिशत र सञ्चालन नाफा ५९ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीको सञ्चालन नाफा रू.३ करोड ३५ लाख रहेकोमा चालू आवमा बढेर रू. ५ करोड ३६ लाख पुगेको छ । त्यस्तै खुद ब्याज आम्दानी गत आवमा रू. २५ करोड ४९ लाख रहेकोमा चालू आवमा बढेर रू. ३० करोड ३९ लाख पुगेको हो ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ १६ पैसा रहेकोमा चालू आवमा बढेर ७ रुपैयाँ ७८ पैसा पुगेको छ । त्यस्तै कम्पनीको खराब कर्जा पनि गत आवको तुलनामा चालू आवमा घटेको छ । गत आवमा यस्तो कर्जा ७ दशमलव ३४ प्रतिशत रहेकोमा चालू आवमा ५ दशमलव ४४ प्रतिशतमा झरेको छ । दोस्रो त्रैमाससम्ममा कम्पनीको वितरयोग्य नाफा रू. ९५ लाख ६० हजार रहेको छ ।
चुक्ता पूँजी रू. १ अर्ब १० करोड रहेको कम्पनीले जगेडामा रू. ३९ करोड १ लाख र रिटेन्ड अर्निङमा रू. २ करोड ३० लाख सञ्चिती गरेको छ । दोस्रो त्रैमाससम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ ३५ पैसा रहेको छ ।