चितवन । चितवनका मौरीपालक किसानले महको ब्राण्डिङ गरेर बजारीकरण अभियान शुरू गरेका छन् । कोराना महामारीपछि स्वदेशी महको विक्रीमा ह्रास आई मह भण्डारण गरेर राख्ने अवस्था आएपछि किसानले यो अभियान थालेका हुन् । स्वदेशी महको प्रचारप्रसारका लागि प्रधानमन्त्री कृषि आधुुनिकीकरण परियोजनाले पनि वित्तीय सहयोग गर्दै आएको छ । चितवनमा सबैभन्दा बढी मह उत्पादन हुने मौरी जोन कालिका नगरपालिकाबाट बजारीकरण थालिएको हो ।
पूर्वी चितवनको कालिका नगरपालिका–६ खोलेसिमलमा ‘नाइन नेक्टर’ ट्रेडमार्क दर्ता गरेर नेपाल मौरीपालक महासंघका निवर्तमान अध्यक्ष शिवप्रसाद पौडेलले ‘पौडेल बी फार्म’अन्तर्गत मौरी घर सञ्चालनमा ल्याएका छन् । नेपाली महलाई प्रशोधन गरी ब्राण्डिङ गरेर बजारीकरण गर्दा विक्रीमा सहज हुने भएकोले यो अभियानको थालनी गरिएकोे उनको भनाइ छ । ब्राण्डिङबाट उपभोक्तामा विश्वास बढी किसानको महको विक्री बढ्ने उनको अपेक्षा छ ।
आगामी दिनमा एकद्धार संकलन र विकेन्द्रीकरण बजार नीति लिई स्वदेशी महको बजारीकरण गरिने उनले बताए । ‘हामीकहाँ सातै प्रदेशमा मह संकलन केन्द्र हुन्छ, त्यहाँबाट चितवनमा सबै मह एकै ठाउँमा संकलन र प्रशोधन गरेर विक्री गर्ने योजना छ,’ पौडेलले भने । यसबाट किसानको मह विक्री हुने र मूल्यमा समेत एकरूपता आउने उनको तर्क छ ।
शुक्रवार ‘मह घर’को उद्घाटन गर्दै कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले मौरीपालक किसानलाई मह उत्पादन र बजारीकरणमा सहयोग गरिने बताए । ‘हामी चितवनमा मौरी, केरा र तरकारी उत्पादनमा पनि अघि बढेका छौं,’ उनले भने, ‘महको बजारीकरणका लागि सहकारीहरूसँग पनि सहकार्य गर्नेछौं ।’
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनका प्रमुख महेश रेग्मीले महको बजारीकरणको लागि कार्यालयले प्रचारात्मक कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको बताए । उनले भने, ‘अहिले सम्म उत्पादनलाई जोड दियौं उनले भने अब मह विक्री गर्न प्रचारात्मक कार्यक्रम गर्दैछौं ।’
परियोजनाका मह जोन संयोजक रामप्रसाद पौडेलले महको उत्पादन र बजारीकरणको कामलाई सँगसँगै अगाडि बढाउनुपर्ने बताए । कृषि विकास कार्यालय भरतपुरका प्रमुख झलक कँडेलले भारतबाट ल्याइएको मह खरीद विक्री रोक्ने नीति लिनुपर्नेमा जोड दिए । मह घरका सञ्चालक पौडेलले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको ४ लाख र व्यक्तिगत २ लाख गरी ६ लाख रुपैयाँको लगानीमा मह घर सञ्चालनमा ल्याएको जानकारी दिए । चितवनमा वार्षिक ७०० मेट्रिक टन मह उत्पादन हुँदै आएको अनुमान छ ।