काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म तेह्रथुम पावर कम्पनी लिमिटेड रू. २ करोड ७८ लाखभन्दा बढी खुद नोक्सानी (Net Loss)मा छ । गत वर्षको यसै अवधिसम्मको तुलनामा यस वर्ष कम्पनीको खुद नोक्सानी रकम बढेको हो ।
गत वर्ष यस अवधिसम्म कम्पनी रू. ५ लाख १२ हजार खुद नोक्सानीमा थियो । यस वर्ष कम्पनीको विद्युत विक्री आम्दानी घटेको र वित्तीय खर्च बढेकाले खुद नोक्सानीमा बृद्धि भएको हो ।
गत वर्ष रू. १० करोड ६३ लाखभन्दा बढी विद्युत विक्री गरेको कम्पनीले यस वर्ष रू. ९ करोड ६८ लाखभन्दा बढीको मात्र विद्युत विक्री गरेको छ । वित्तीय खर्च भने गत वर्ष रू. ६ करोड १२ लाखभन्दा बढी भएकोमा यस वर्ष रू. ८ करोड २ लाखभन्दा बढी भएको हो ।
हाल यस कम्पनीको चुक्ता पूँजी (Paidup Capital) रू. ४० करोड छ । जगेडा कोष रकम रू. १२ करोड ६० लाखभन्दा बढी ऋणात्मक छ । दीर्घकालीन कर्जा रू. ९८ करोड ८६ लाखभन्दा बढी रहेको कम्पनीको अल्पकालीन कर्जा भने रू. ४८ लाख ९५ हजार छ ।
गत वर्षको तुलनामा यस वर्ष कमपनीको प्रतिशेयर नेटवर्थ कम भएको छ । गत वर्ष यस अवधिसम्म रू. ७६ रहेको प्रतिशेयर नेटवर्थ यस वर्ष रू. ६८ मा झरेको हो । तेस्रो त्रैमाससम्म कम्पनी वार्षिक रू. ९ दशमलव २७ प्रतिशेयर नोक्सानीमा छ ।