दुई हप्तायता लगातारजसो बढिरहेको कच्चा तेलको मूल्य केही उतारचढावबीच पनि प्रतिब्यारेल ९५ डलरमाथि पुगेको छ । शुक्रवार न्यूयोर्क मर्कण्टायल एक्सचेन्जको इलेक्ट्रोनिक्स ट्रेडिङमा सिङ्गापुरको मध्याह्नको समयअनुसार सेप्टेम्बर डेलिभरीको बेञ्चमार्क क्रुड प्रतिब्यारेल ९५ डलर १८ सेण्टमा किनबेच भयो । बिहीबार राति बजार बन्द हुँदा बेञ्चमार्क ९५ डलर ६० सेण्टसम्म पुगेको थियो ।
त्यसैगरी शुक्रवार नै लण्डनस्थित आईसीई फ्युचर्स एक्सचेन्जमा ब्रेण्ट क्रुडको प्रतिब्यारेल मूल्य पनि अघिल्लो दिनभन्दा १ डलर ५१ सेण्टले ओर्लिएर १ सय १३ डलर ७४ सेण्ट कायम भयो । तीन दिनसम्म लगातार बढेको बेञ्चमार्क र ब्रेण्टको मूल्य घट्नुमा अमेरिकाले आफ्ना रणनीतिक भण्डारणहरूमा सञ्चित तेल बजारमा ल्याउने समाचार प्रमुख कारण रहेको देखिन्छ । विश्लेषकहरूले बढिरहेको तेलको मूल्यले अमेरिकाको आर्थिक सुधार र पुनरुत्थानमा बाधा उत्पन्न गर्ने देखिएपछि ओबामा प्रशासनले यस्तो कदम उठाउन लागेको अनुमान गरेका छन् ।
यो समाचार आएपछि बजारमा तेलको आपूर्ति बढ्ने हुनाले मूल्य ओर्लिएको उनीहरूको भनाइ छ । ‘शुक्रवार कमोडिटिज बजारमा अन्य विषयभन्दा अमेरिकी सरकारले रणनीतिक तेल भण्डारण खुला गर्नेबारेका कुराले प्राथमिकता पायो,’ डे एएनजेड बैंकको सिङ्गापुरस्थित शाखाका कमोडिटिज विश्लेषक निक ट्रेभावानले भने ।
वर्ष ७, अंक ३३७, आइतवार २ भदौ २०६९