काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव)को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरणअनुसार तेस्रो त्रैमाससम्ममा कम्पनीको वितरणयोग्य नाफा रू. ३ करोड ६४ लाख छ । सो अवधिमा कम्पनीको खुद नाफा भने गत आवको तुलनामा २३ दशमलव २६ प्रतिशत घटेको छ ।
गत आवमा कम्पनीले रू. ५ करोड २४ लाख नाफा कमाएकोमा चालू आवमा घटेर रू. ४ करोड २ लाखमा सीमित भएको हो । चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले नाफा प्रभावित भएको हो । गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी ४३ दशमलव ४६ प्रतिशत र सञ्चालन नाफा २३ दशमलव २६ प्रतिशत घटेको छ ।
गत आवमा कम्पनीको खुद ब्याज आम्दानी रू. २० करोड ५८ लाख रहेकोमा चालू आवमा घटेर रू. ११ करोड ६३ लाखमा सीमित भएको छ । त्यस्तै कम्पनीको सञ्चालन नाफा गत आवमा रू. ७ करोड ४९ लाख रहेकोमा चालू आवमा घटेर रू. ५ करोड ७५ लाखमा झरेको हो ।
नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी ३२ रुपैयाँ १७ पैसा रहेकोमा चालू आवमा २४ रुपैयाँ ६८ पैसामा सीमित भएको हो ।
कम्पनीको चुक्ता पूँजी रू. २१ करोड ७५ लाख छ । तेस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. १७ करोड ८५ लाख र रिटेन्ड अर्निङमा रू. ४ करोड ३० लाख सञ्चिति गरेको छ । सो अवधिमा कम्पनीको प्रतिशेयर नेटवर्थ रू. २०१ दशमलव ८६ र तरलता अनुपात ६ दशमलव १६ प्रतिशत छ ।