सरकारले चालू आर्थिक वर्षमा तीनओटा भन्सार कार्यालयलाई स्वचालित प्रणाली (आशिकुडा) मा लैजाने भएको छ । स्वचालित प्रणालीमा लगिने भन्सार कार्यालयहरूमा जनकपुर, सिराहा र सर्लाही भन्सार कार्यालय भएको अर्थसचिव कृष्णहरि बास्कोटाले बताए । ‘हालसम्म त्यस्तो प्रणाली १२ ओटा भन्सार कार्यालयमा लागू भइसकेको छ,’ उनले भने, ‘जनकपुर भन्सार कार्यालयमा सो प्रणाली शुक्रवारदेखि विधिवत् लागू भइसकेको छ ।’ भन्सारको तथ्यांकलाई स्वचालित प्रणाली (अटोमेटेड सिष्टम फर कष्टम डाटा) मा लैजानुलाई ‘आशिकुडा’ भनिन्छ ।
यो प्रणाली लागू भएका भन्सार कार्यालयहरूको प्रज्ञापनपत्र प्रविष्टि हुनासाथ भन्सार विभागबाट हेर्न सकिने भन्सार विभागका प्रवक्ता तथा निर्देशक श्याम दाहालले जानकारी दिए । आशिकुडा प्रणालीको कार्यान्वयनबाट भन्सार जाँचपास प्रक्रिया सरलीकृत हुने र कर्मचारीको कार्यक्षमतामा वृद्धि भई राजस्व असुली बढ्ने उनको भनाइ छ । यो प्रणाली लागू भएका भन्सार कार्यालयहरूबाट ९५ प्रतिशत राजस्व असुली भइरहेको पनि उनले बताए । नेपालमा यो प्रविधिको प्रयोग २०५५ सालमा शुरू भएको हो । भन्सार कार्यालयमा यस प्रविधिको प्रयोगले भन्सार प्रशासन तथा उद्योगी व्यवसायी दुवैलाई लाभ पुग्ने उनको भनाइ छ । अहिलेको युग सूचनाप्रविधिको युग भएकाले यसको पूर्ण प्रयोग गर्नुपर्ने उनको भनाइ छ ।
यसअघि आशिकुडा लागू भएका वीरगञ्ज, भैरहवा, पर्सा सुक्खा बन्दरगाह, त्रिवि भन्सारको कार्गो र विराटनगरमा एशियाली विकास बैंक र विश्व बैंकको सहयोगमा सो प्रणाली विस्तार गरिएको हो ।
वर्ष ७, अंक ३३७, आइतवार ३ भदौ, २०६९