काठमाडौं । बिहीवार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई कम्पनीको आईपीओ सूचीकृत भएको छ । थ्रीस्टार हाइड्रोपावर लिमिटेडको ४९ लाख २५ हजार कित्ता र अप्पर स्याङ्गे हाइड्रोपावरको २२ लाख कित्ता साधारण शेयर सूचीकृत भएको हो । अब यी दुवै कम्पनीको शेयर धितोपत्रको दोस्रो बजारमा आइतवारदेखि कारोबारमा आउनेछ ।
अप्पर स्याङ्गे हाइड्रोपावरको नेप्सेले पहिलो कारोबारको लागि रू. ८४ दशलमव ५४ देखि २५३ दशमलव ६२ ओपन रेञ्ज प्रदान गरेको छ । यही रेञ्जका आधारमा कम्पनीको शेयर धितोपत्रको दोस्रो बजारमा आइतवारदेखि कारोबारमा आउनेछ ।
कम्पनीले सर्वसाधारण लगानीकर्ता, वैदेशिक रोजगारीमा गएका नेपाली, सामूहिक लगानी कोष, स्थानीय र कर्मचारीहरूको लागि निष्कासन गरेको कुल ८ लाख ७० हजार कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरूले लगानी गरेको १३ लाख ३० हजार गरेर कुल २२ लाख कित्ता साधारण शेयर सूचीकृत गराएको हो ।
यस कम्पनीको स्टक सिम्बोल यूएसएचएल रहेको छ । साथै कम्पनीले सूचीकरणपश्चात दिनुपर्ने सेवा सिद्धार्थ क्यापिटल लिमिटेड, नक्साल, काठमाडौंबाट हुने जानकारी दिएको छ ।
त्यस्तै नेप्सेले थ्रीस्टार हाइड्रोपावरको पहिलो कारोबारको लागि रू. ८५ दशलमव ६५ देखि २५६ दशमलव ९५ ओपन रेञ्ज प्रदान गरेको छ । यही मूल्य रेञ्जको आधारमा कम्पनीको शेयर आइतवारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।
कम्पनीले सर्वसाधारण लगानीकर्ता, वैदेशिक रोजगारीमा गएका नेपाली, सामूहिक लगानी कोष, स्थानीय र कर्मचारीहरूको लागि निष्कासन गरेको कुल १२ लाख ३१ हजार २५० कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरूले लगानी गरेको ३६ लाख ९३ हजार ७५० कित्ता गरेर कुल ४९ लाख २५ हजार कित्ता साधारण शेयर सूचीकृत गराएको हो । यस कम्पनीको स्टक सिम्बोल टिएसएचएल रहेको छ ।
साथै कम्पनीले सूचीकरणपश्चात दिनुपर्ने सेवा हिमालयन क्यापिटल लिमिटेड, ठमेल, काठमाडौंबाट हुने जानकारी दिएको छ ।