काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडले सर्वसाधारणमा विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ ।
विक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडले मंगलवार बिहान कम्पनीको आईपीओ बाँडफाँट गरेको हो । मागभन्दा बढी आवेदन परेको यस कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँट भएको हो ।
विक्री प्रबन्धकका अनुसार ६१ हजार ३१६ जना योग्य आवेदकहरूमा १० कित्ताका दरले आईपीओ बाँडफाँट गरिएको हो । यीमध्ये दुई जना आवेदकहरूले थप एक कित्ताका दरले आवेदन प्राप्त गरेका छन् । यस आधारमा कम्पनीको आईपीओ ११ कित्तासम्म बाँडफाँट गरिएको हो ।
कम्पनीको आईपीओ खरीदका लागि १० लाख २४ हजार ४६ जनाको आवेदन परेको थियो । कुल आवेदकहरूमध्ये २ हजार ८४८ जनाको आवेदन भने रितपूर्वक नभएकाले रद्द गरिएको विक्री प्रबन्धकको भनाइ छ ।
योग्य १० लाख २१ हजार १९८ जना आवेदकहरूलाई बाँडफाँटमा सहभागी गराइएको थियो । कम्पनीले असार ५ देखि ८ गतेसम्म सर्वसाधारणका लागि ६ लाख १३ हजार १६२ कित्ता आईपीओ विक्री खुला गरेको थियो ।
कम्पनीले जारी पूँजी ४९ करोड २५ लाख रुपैयाँको २५ प्रतिशत दरले हुन आउने १२ लाख ३१ हजार २५० कित्ता आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कुल कित्ता आईपीओमध्ये पहिलो चरणमा ७३ हजार ८७५ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीमा, ४ लाख ९२ हजार ५०० कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दामा, ३६ हजार ९३८ कित्ता सामूहिक लगानी कोषमा र १४ हजार ७७५ कित्ता आईपीओ कर्मचारीमा बाँडफाँट गरिसकेको छ ।
कम्पनीले खोटाङमा ६ दशमलव ६ मेगावाट क्षमताको साप्सुप खोला साना जलविद्युत आयोजनको निर्माण कार्य सम्पन्न गरिसकेको छ । २०७८ पुस २३ गतेदेखि उक्त आयोजनाबाट व्यापारिक उत्पादन शुरु गरिएको हो । यस आयोजनको अनुमानित कुल लागत १ अर्ब ३९ करोड रुपैयाँ र प्रतिमेगावाट लागत २१ करोड ६ लाख रुपैयाँ छ ।