काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडले सर्वसाधारणमा विक्री गरेको आईपीओको अन्तिम बाँडफाँट असार १९ गते गर्ने तयारी गरेको छ । असार १५ गते उक्त आईपीओको प्रि–अलोटमेन्ट सम्पन्न गरिसकेको कम्पनीले असार १९ गते अन्तिम बाँडफाँटको तयारी गरेको हो ।
कम्पनीले असार ५ देखि ८ गतेसम्म सर्वसाधारणका लागि ६ लाख १३ हजार १६२ कित्ता आईपीओ विक्री खुला गरेको थियो । तोकिएको अवधिभित्र कम्पनीको आईपीओ खरीदका लागि १० लाख ९२ हजारभन्दा बढी आवेदकहरूबाट १ करोड १९ लाख ८७ हजारभन्दा बढी कित्ता शेयर खरीद माग भएको छ । साढे १९ गुणा बढी आवेदन परेको कम्पनीको आईपीओ गोलाप्रथाको माध्यमबाट बाँडफाँट हुनेछ । कम्पनीको आईपीओ ६१ हजार ३१६ जना योग्य आवेदकहरूले १० कित्ताका दरले हात पार्नेछन् ।
पहिलो चरणमा १० कित्ताका दरले आईपीओ बाँडफाँट गरी बाँकी रहेको २ कित्ता शेयर भने यी मध्येकै दुई जना आवेदकहरूले एक एक कित्ताका दरले थप शेयर प्राप्त गर्नेछन् ।
कम्पनीले जारी पूँजी ४९ करोड २५ लाख रुपैयाँको २५ प्रतिशत दरले हुन आउने १२ लाख ३१ हजार २५० कित्ता आईपीओ विक्री गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कम्पनीले कूल कित्ता आईपीओमध्ये पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीमा ७३ हजार ८७५ कित्ता, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दामा ४ लाख ९२ हजार ५०० कित्ता, सामूहिक लगानी कोषमा ३६ हजार ९३८ कित्ता र कर्मचारीमा १४ हजार ७७५ कित्ता आईपीओ बाँडफाँट गरिसकेको छ ।
कम्पनीले खोटाङमा ६ दशमलव ६ मेगावाट क्षमताको साप्सुप खोला साना जलविद्युत आयोजनको निर्माण कार्य सम्पन्न गरिसकेको छ । २०७८ पुस २३ गतेदेखि उक्त आयोजनाबाट व्यापारिक उत्पादन शुरु गरिएको हो । यस आयोजनको अनुमानि कूल लागत १ अर्ब ३९ करोड रुपैयाँ र प्रतिमेगावाट लागत २१ करोड ६ लाख रुपैयाँ छ ।