काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । चैत २३ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद शेयर निष्कासनको प्रस्तावसहित अन्य विविध प्रस्ताव पारितका लागि वैशाख २३ गते साधारण सभा गर्ने निर्णय गरेको छ ।
सभा भक्तपुरको गठ्ठाघरस्थित जर्मन होम्समा बिहान ११ बजे शुरु हुनेछ । कम्पनीले सार्वजनिक गरेको सूचनामा कति प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भन्नेबारे स्पष्ट जानकारी दिएको छैन । सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्दै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।
उपयुक्त नयाँ आयोजनाको परिचालन गरी लगानी गर्ने वा निर्माणाधीन आयोजनामा थप लगानी गर्ने सम्बन्धमा पनि सभाले आवश्यक निर्णय गर्नेछ । सञ्चालक समितिमा सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधितत्व गर्ने दुई जना सञ्चालक निर्वाचनको कार्यक्रमसमेत सभाका लागि तय भएको छ ।
साधारण सभा प्रयोजना लागि कम्पनीले वैशाख ७ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा वैशाख ६ गतेसम्म कायम शेयधरनीमा मात्र सभामा भाग लिन सक्नेछन् । यस कम्पनीले सर्वसाधारणमा २०८० असार १९ गते आईपीओ बाँडफाँट गरेको थियो ।
कम्पनीले खोटाङमा ६ दशमलव ६ मेगावाट क्षमताको साप्सुप खोला साना जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न गरिसकेको छ । २०७८ पुस २३ गतेदेखि उक्त आयोजनाबाट व्यापारिक उत्पादन शुरु गरिएको हो । यस आयोजनको अनुमानित कुल लागत १ अर्ब ३९ करोड रुपैयाँ र प्रतिमेगावाट लागत २१ करोड ६ लाख रुपैयाँ छ ।