चितवन । दशैं सकिए लगत्तै चितवनका फूलखेती किसान तिहारको तयारीमा लागेका छन् । बारीमा ढकमक्क फूल फुले पनि यसको माग तिहारको केही दिन अघि मात्र शुरू हुने गर्दछ । गएको वर्ष उत्पादनको तुलनामा माग कम भएपछि अधिकांश किसानको फूल तथा माला विक्री भएको थिएन । तर यो वर्ष गत वर्षको तुलनामा झन्डै २५ उत्पादन घटेको फ्लोरिकल्चर एशोसिएशन नेपाल, जिल्ला समिति चितवनले जानकारी दिएको छ ।
तीन दशकदेखि फूलखेती गर्दै आएका भरतपुर–२६ का किसान दिपक पाख्रिन तिहारको लागि फूल तयार भइसकेको र ग्राहकको पर्खाइमा रहेको बताउँछन् । ‘अहिले फूलको माग धेरै छ । तर टिपेर बेच्दा फूल कालो भएर जान्छ, कात्तिक १०–११ गतेदेखि विक्री शुरू गर्छु,’ पाख्रिनले भने । पाख्रिनले यसपटक फूलखेती राम्रो भए पनि वर्षा र हुस्सुका कारण उत्पादन कम भएको बताए । ‘मैले त दशैंदेखि नै बेच्न थालेको हुँ, दशैंमा २० हजार माला विक्री भयो होला, तिहारमा माग थेग्न मुश्किल छ,’ उनले भने । गतवर्षको तुलनामा अहिले फूलको मूल्य बढ्ने समेत उनले बताए ।
रत्ननगरपालिका–२ का किसान हरि श्रेष्ठ पनि फूलको अर्डर लिन व्यस्त छन् । उनले यस वर्ष २ बिघामा सयपत्री फूल लगाएका छन् । ‘मेरोमा २० हजारजति माला हुन्छ होला, अर्डर काठमाडौं, पोखरा लगायतका ठाउँबाट पनि आएको छ, हेरौं के हुन्छ,’ श्रेष्ठले भने ।
कालिका नगरपालिका–२ किसान गोविन्द बास्तोलाले अहिले फूलको उत्पादनसँगै माग पनि राम्रो भएको बताए । ‘पोहोर उत्पादन बढी र माग कम हुँदा फूल फाल्नुपर्यो,’ बास्तोलाले भने, ‘अहिले विक्री राम्रै होलाजस्तो छ ।’ उनले नेपालमा मात्र नभई विदेशबाट समेत फूलको अर्डर आएको बताए । ‘पोहोर हङकङ पनि पठाएका थियौं, अहिले पनि त्यहाँबाट सयपत्री फूलको अर्डर आएको छ । युकेमा पनि स्याम्पलको लागि हजार थान मखमली माला पठाइसक्यौं,’ बास्तोलाले भने ।
यस वर्ष अर्डर र माग बढेसँगै सयपत्री फूलखेतीको क्षेत्रफल घट्दा फूलको मूल्य बढ्न सक्ने फ्लोरिकल्चर एशोसियसन चितवनका अध्यक्ष तेजेन्द्र सापकोटा बताउँछन् । ‘फूलको होलसेल र खुद्रामूल्य निर्धारण गर्ने विषयमा हामी छलफलमै छौं,’ सापकोटाले भने,‘ पोहोरको तुलनामा केही बढ्छ कि ?’ पोहोर चितवनमा ५० बिघा क्षेत्रफलमा फूलखेती गरिएको भए पनि फूल विक्री नभएपछि यस वर्ष ३५ बिघाको हाराहारीमा फूल लगाइएकोले मागको तुलनामा उत्पादन कम हुने सापकोटाको भनाइ छ ।