काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मंगलवार तीन कम्पनीको आईपीओ सूचीकृत गरेको छ । मंगलवार नेप्सेमा इष्टर्न हाइड्रोपावर लिमिटेड, पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेड र श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ सूचीकृत भएको हो ।
इष्टर्न हाइड्रोपावरले ६२ लाख कित्ता शेयर सूचीकृत गराएको हो । कम्पनीले संस्थापक तर्फबाट ४९ लाख ६० हजार कित्ता, कर्मचारीसहित सर्वसाधारणमा जारी गरेको ६ लाख २० हजार कित्ता र आयोजना प्रभावित स्थानीयमा विक्री गरेको ६ लाख २० हजार कित्ता आईपीओ नेप्सेमा सूचीकृत गरेको हो । इएचपीएल स्टक संकेतबाट सूचीकृत इष्टर्न हाइड्रोपावरको पहिलो शेयर कारोबारका लागि नेप्सेले प्रतिकित्ता रू. ७२ दशमलव ३३ देखि रू. २१६ दशमलव ९९ सम्मको मूल्य रेञ्ज प्रदान गरेको छ ।
त्यस्तै पीएचसीएल स्टक संकेतबाट पिपुल्स हाइड्रोपावर कम्पनीको आईपीओ सूचीकृत भएको छ । पिपुल्स हाइड्रोपावरले संस्थापक तर्फको २ करोड ४० लाख कित्ता, सर्वसाधारण तर्फको कर्मचारीसमेत ४८ लाख कित्ता र आयोजना प्रभावित स्थानीयमा वितरण गरिएको ३२ लाख कित्ता गरी कुल ३ करोड २० लाख कित्ता शेयर सूचीकृत गरेको हो । पिपुल्स हाइड्रोपावरको पहिलो शेयर कारोबारका लागि नेप्सेले प्रतिकित्ता रू. १०० देखि रू. ३०० सम्मको मूल्यरेञ्ज तोकेको छ ।
नेप्सेमा श्रृजनशील लघुवित्तको शेयर एसएचएलबी स्टक संकेतबाट सूचीकृत भएको छ । यस कम्पनीको कर्मचारीसमेत सर्वसाधारणमा वितरण गरिएको ३ लाख ९३ हजार ७५० कित्ता र सर्वसाधारण तर्फको ७ लाख कित्ता गरी कुल १० लाख ९३ हजार ७५० कित्ता शेयर सूचीकृत भएको हो ।
श्रृजनशील लघुवित्तको पहिलो शेयर कारोबारका लागि नेप्सेले प्रतिकित्ता रू. ३०२ देखि रू. ९०६ सम्मको मूल्यरेञ्ज तोकेको छ । बुधवारदेखि कारोबारयोग्य हुने यी तीन कम्पनीको शेयर कारोबार नेप्सेले तोकेको मूल्यरेञ्जका आधारमा शुरू हुनेछ ।