काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत १५ वित्त कम्पनीमध्ये हालसम्ममा तीन कम्पनीले मात्रै गत आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट लाभांश दिएका छन् । श्री इन्भेष्टमेन्ट फाइनान्स, आइसीएफसी फाइनान्स र मञ्जुश्री फाइनान्सले मात्रै लाभांश दिएका हुन् । यी तीन कम्पनीले नगद लाभांश मात्रै दिएका छन् ।
आइसीएफसी फाइनान्सले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीलाई ६ दशमलव ५ प्रतिशत, मञ्जुश्री फाइनान्सले ५ दशमलव २६३ प्रतिशत र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले ५ दशमलव ०५ प्रतिशत नगद लाभांश दिएका हुन् । यी तीनओटै कम्पनीले नगद लाभांश सम्बन्धित शेयरधनीको बैंक खातामा पठाइसकेका छन् ।
आठ कम्पनीले लाभांश नदिने निर्णय गरेका छन् । नेपाल फाइनान्स, गोर्खाज फाइनान्स, गुडवील फाइनान्स, पोखरा फाइनान्स, सेन्ट्रल फाइनान्स, सृमद्धि फाइनान्स, गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्स र मल्टीपर्पस फाइनान्सले लाभांश वितरण नगर्ने निर्णय गरेका हुन् ।
गत आवमा आर्थिक मन्दीका कारण कम्पनीहरूको नाफा प्रभावित भएको छ । बैंक तथा वित्तीय संस्थाहरूको बढ्दो खराब कर्जाले अन्य क्षेत्रहरूलाई पनि प्रभावित बनाएको छ भने सूचीकृत कम्पनीहरूको नाफामा प्रत्यक्ष असर परेकाले कम्पनीले शेयरधनीलाई लाभांश वितरण गर्न नसकेको जानकार बताउँछन् ।
चार कम्पनीले भने हालसम्म लाभांशसम्बन्धी निर्णय र साधारण सभा आह्वान गर्न बाँकी छ, जसमा रिलायन्स फाइनान्स, प्रोग्रेशिभ फाइनान्स, जानकी फाइनान्स र वेष्ट फाइनान्स छन् ।