काठमाडौं । लगातार तीन कारोबार दिन घटेको नेप्से आज (सोमवार) भने १ दशमलव ०४ प्रतिशत बढेर बन्द भएको छ । यससँगै नेप्से परिसूचक २ हजार ६४५ दशमलव ३६ विन्दुमा पुगेको हो । बजार बढ्दा लगानीकर्ताको आकर्षण वित्त कम्पनीको शेयरमा परेको छ । यस समूहको सूचक सबैभन्दा बढी ३ दशमलव ४६ प्रतिशत वृद्धि भएको छ ।
बजार बढ्दा कारोबार रकमसमेत बढेको छ । अघिल्लो कारोबार दिन रू. ४ अर्ब ७३ करोड बराबरको कारोबार भएकोमा आज रू. ५ अर्ब ३४ करोडभन्दा बढीको कारोबार भएको हो ।
शेयर बजारलाई राजनीतिक कारणले पनि प्रभाव पार्ने गरेको छ । केही दिनअगाडि सामाजिक सञ्जालमा केपी ओली नेतृत्वको सरकार परिवर्तन हुने खालका 'स्टाटस' देखिएकाले बजार केही घटेको जानकार बताउँछन् । तर, यस्तो प्रभाव अल्पकालीन रूपमा मात्रै रहने उनीहरूको भनाइ छ ।
सोही कारण अब बजार लयमा फर्किने उनीहरूको विश्वास छ ।
पछिल्लो समय ब्याजदर निकै तल्लो विन्दुमा झरेको छ भने सूचीकृत कम्पनीहरूले लाभांश घोषणा गर्न थालेका छन् । जसले शेयर बजारमा सकारात्मक प्रभाव पार्ने जानकारहरू बताउँछन् ।
सोमवार सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ६८ प्रतिशत, फ्लोट इन्डेक्स १ दशलमव ०७ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ७२ प्रतिशत वृद्धि भएको छ ।
आज ३०७ धितोपत्रको १ करोड ४ लाख १८ हजार ९२६ कित्ता शेयर ५८ हजार ५५२ पटक कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये दुई धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । जानकी फाइनान्स र दोल्ती पावर कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । जानकी फाइनान्सको शेयर मूल्य प्रतिकित्ता रू. ७७५ दशमलव ८० र दोल्ती पावरको शेयर मूल्य रू. ६१२ दशमलव ८० पुगेको छ ।
सोमवार पिपुल्स हाइड्रोपावर कम्पनीको शेयर मूल्य सबैभन्दा बढी ६ दशमलव ०२ प्रतिशत घटेको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ५१५ मा झरेको छ । पिपुल्स हाइड्रोपावरपछि शेयर मूल्य सर्वाधिक घट्ने (प्रतिशतका आधारमा) कम्पनीमा कालिञ्चोक दर्शन छ । उक्त कम्पनीको शेयर मूल्य ४ दशमलव ३५ प्रतिशत घटेर रू. १ हजार ७५ दशमलव १० कायम भएको छ ।
आज शेयर सर्वाधिक खरीदविक्रीको हिस्सा नेपाल फाइनान्स कम्पनीले ओगटेको छ । यस कम्पनीको रू. ३३ करोड ७९ लाख बराबरको शेयर कारोबार भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ४ सय कायम भएको छ । शेयर सर्वाधिक खरिदविक्री हुने दोस्रोमा समृद्धि फाइनान्स कम्पनी छ । कम्पनीको रू. २४ करोड ७६ लाख बराबरको शेयर कारोबार भएको हो ।
कारोबारमा आएका १३ ओटै समूहगत सूचक बढेका छन् । तीमध्ये वित्त समूहको सूचक सबैभन्दा बढी ३ दशमलव ४६ प्रतिशत वृद्धि भएको छ । त्यस्तै, जीवन बीमा समूहको सूचक १ दशमलव ८४ प्रतिशत र जलविद्युत् समूहको सूचक १ दशमलव ५८ प्रतिशत वृद्धि भएको छ ।