राष्ट्रिय खेलकुद परिषद्ले तनहुँ जिल्लाको व्यास नगरपालिकास्थित चिन्टुटारमा रंगशाला निर्माण गर्ने भएको छ । सोका लागि आवश्यक प्राविधिक तयारी शुरू भइसकेको परिषद्का योजना विभाग प्रमुख कमल खनालले बताए । उनले भने, ‘परिषद्का इन्जिनीयरहरूले जग्गाको नापजाँच गरेर आवश्यक तथ्यांक संकलन गरिसकेका छन् । अहिले कस्तो प्रकृतिको रंगशाला बनाउने भन्ने विषयमा प्राविधिक काम हुँदै छ ।’ तनहुँमा रंगशाला निर्माणका लागि उचित स्थानको खोजीमा रहेको परिषद्लाई स्थानीय बासिन्दाले करीब १३ रोपनी जग्गा उपलब्ध गराएका हुन् । स्थानीय बासिन्दाले नै जग्गा दिएर काम थाल्न आग्रह गरेपछि परिषद्ले रंगशाला निर्माणका लागि सक्रियता देखाएको हो ।
स्थानीय बासिन्दाले आफूहरूबाट संकलन गरेको ३३ लाख रुपैयाँबाट जग्गा खरीद गर्नुका साथै सम्याएर परिषद्लाई हस्तान्तरण गरिसकेका छन् । रंगशाला संरक्षण तथा संवद्र्धन समितिका अध्यक्ष राजेन्द्रकेशरी न्यौपानेले थप जग्गा ऐलानी रहेकाले आवश्यक परेमा प्रयोग गर्न सकिने बताए ।
वर्ष ८, अंक ८८, शुक्रवार २९ मङ्सिर, २०६९