काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल आजदेखि करीब पाँच महीना दैनिक १० घण्टा बन्द हुने भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का अनुसार विमानस्थल स्तरोन्नतिका लागि आजबाट दैनिक १० घण्टा उडान बन्द गरेर विस्तारको काम गर्न लागिएको हो ।
प्राधिकरण अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’लगायत विस्तार गर्नेछ ।
यी काम पूरा गर्न रु १५ अर्ब खर्च हुने आयोजनाले जनाएको छ । स्तरोन्नतिका क्रममा राति १० देखि बिहान ८ बजेसम्मका सबै उडान कटौती हुनेछन् ।
हाल विमानस्थल बिहान ६ बजे खुलेर राति २ बजेसम्म सञ्चालन हुँदै आएको थियो । स्तरोन्नतिका क्रममा यहाँबाट हुँदै आएको आन्तरिक उडान दैनिक ३५ प्रतिशतले घट्ने भएको छ ।
उडान संख्या व्यापक कटौती हुने भएपछि हवाई भाडा बढ्न सक्ने अनुमान गरिएको छ । आन्तरिक उडान गरिरहेका ठूला वायुसेवा कम्पनीका अधिकारीले भने तत्काल भाडा बढाउने मनसाय नरहेको आर्थिक अभियानलाई बताए ।
हाल दैनिक २१ घण्टा सञ्चालनमा रहेको विमानस्थल १० घण्टा बन्द हुने भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक र अन्तरराष्ट्रिय उडान संख्या व्यापक घट्ने गरी हिउँदे यामको उडान तालिका सार्वजनिक गरेको छ ।
प्राधिकरणका अनुसार हाल त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आन्तरिकतर्फ दैनिक ३५६ उडान/अवतरण भइरहेकोमा नयाँ उडान तालिकाअनुसार यो संख्या २३० मा खुम्चिनेछ ।
आईएफआर (इन्स्ट्र्युमेन्ट फ्लाइट रुल्स) हुने विमानस्थलमा रात्रिकालीन उडान हुने भए पनि राति १० बजेभित्र नै वायुसेवाहरूले उडान सम्पन्न गरिसक्नुपर्छ । प्राधिकरणले शुक्रवारदेखि लागू हुने गरी बिहान ८ बजेदेखि राति १० बजेसम्म मात्रै उडान गराउने गरी तालिका बनाइसकेको छ । नयाँ तालिकाअनुसार आन्तरिक र अन्तरराष्ट्रिय उडान यही समयभित्र सम्पन्न गरिसक्नुपर्छ ।
प्राधिकरणका अनुसार प्रत्येक वायुसेवाले बिहान ८ देखि राति ९–१० बजेभित्रको बीचको १/१ घण्टामा कति संख्यामा उडान गर्ने (उडानका लागि छुट्याइएको समय–स्लट) तालिकासमेत स्वीकृत गरेको छ ।
प्राधिकरणले सरकारी स्वामित्वको नेपाल एयरलाइन्स र निजीक्षेत्रका वायुसेवा प्रदायक कम्पनी बुद्ध, यती, श्री, तारा, समिट र सीता एयरलाइन्सले उक्त अवधिमा गर्ने उडान तालिका पनि स्वीकृत गरेको छ । यस्तो स्लट पाउने समय भने बिहान ९ बजेदेखि साँझ ५ बजेसम्मको छ ।
प्राधिकरणका अनुसार सबैभन्दा धेरै स्लट पाउनेमा बुद्ध एयर छ । बुद्धले विमानस्थल बन्दको अवधिमा दैनिक १३९ उडान/अवतरण गर्नेछ । प्राधिकरणले कुन घण्टामा कति उडान गर्न सक्ने भन्ने स्लट तोकिदिएको छ ।
बुद्ध एयरका सञ्चार प्रबन्धक दीपेन्द्र कर्ण बिहान ६ बजेदेखि उडान भइरहेकोमा अब बिहान २ घण्टा उडान रोकिने हुँदा स्वतः उडान संख्या घट्ने बताउँछन् । कतिपय समयमा राति ११÷१२ बजे पनि बुद्ध एयरले उडान गर्दै आएको भन्दै उनले उडान अवधि घटेपछि उडान संख्यामा असर पर्ने बताए ।
यसैगरी यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्ताैलाले प्राधिकरणले तयार पारेको उडान तालिकाअनुसार यतीले दैनिक ४१ उडान÷अवतरण गर्ने बताए । दुवै कम्पनीका अधिकारीले उडान संख्या घटे पनि भाडा बढाउने योजना नरहेको बताए । ‘प्राधिकरणले तोकेकै सीमामा रहेर भाडा लिनेछौं,’ बुद्ध एयरका कर्णले भने ।
यतीका बर्तौलाले पनि कम्पनीको भाडा बढाउने उद्देश्य नरहेको बताए । एयरलाइन्सका अधिकारीहरू बिहानको उडान कटौतीले माउन्टेन फ्लाइटमा भने असर गर्ने बताउँछन् ।
कर्णका अनुसार नोभेम्बरमा माउन्टेन फ्लाइट धेरै हुने गर्छ । माउन्टेन फ्लाइटबाट आन्तरिक उडान गर्ने वायुसेवा कम्पनीले राम्रो आम्दानी गर्छन् । यही महीनाको शुरुआतमा हुने उडान कटौतीले माउन्टेन फ्लाइट प्रभावित हुने कर्णले बताए ।
बर्तौलाले पनि माउन्टेन फ्लाइटमा असर पर्ने बताए । ‘अहिले मुख्य समस्या भनेको बिहानको समयमा हुने माउन्टेन फ्लाइटमा हो । माउन्टेन फ्लाइट भद्रपुर वा विराटनगर विमानस्थलबाट गर्न सकिन्छ कि भनेर पनि गृहकार्य गरिरहेका छौं,’ बर्तौलाले भने ।
उडान संख्या कटौतीबाट व्यापारमा असर परे पनि दीर्घकालका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको स्तरोन्नति आवश्यक रहेको वायुसेवा कम्पनीका अधिकारीहरूको भनाइ छ । उनीहरूले तोकिएअनुसार स्तरोन्नतिको काम चैतभित्रै सक्न पनि प्राधिकरणलाई आग्रह गरे ।
वायुसेवा सञ्चालकहरूको छाता संस्था वायुसेवा सञ्चालक संघ, नेपालले विमानस्थल सञ्चालनको समय घटाउँदा कम्पनीहरूको उडान कटौती भए पनि विमानस्थल विस्तारको काम सकारात्मक भएको उल्लेख गरेको छ । संघले जाडो महीना पनि यही बेला पर्ने भएकाले नियमित हुने उडान पनि हुस्सु तथा कम भिजिबिलिटीका कारण प्रभावित हुने बताएको छ ।
संघले उक्त अवधिमा एयरलाइन्स कम्पनीका चेक इन काउन्टर उडान समयभन्दा १५ मिनेटअघि नै बन्द हुने जानकारी गराएको छ । संघले हेलिकोप्टर कम्पनीलाई पनि सोही अवधि र नलिञ्चोक हेलिप्याडबाट हुने उडान भने सूर्योदयदेखि सूर्यास्तसम्मै सञ्चालन हुने भन्दै त्यहाँबाट पनि उडान गर्न सकिने उल्लेख गरेको छ ।
संघका अध्यक्ष मनोज कार्कीको हस्ताक्षरमा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘धावनमार्ग तथा समानान्तर ट्याक्सी वेबीचको लिंकरोड निर्माणको काम तोकिएकै समय २०८१ चैत १८ गतेसम्ममा सम्पन्न गर्ने विश्वास छ । सन् २०२५ को स्प्रिङ सिजनसम्म पनि निर्माण सम्पन्न नभएमा वायुसेवा कम्पनीहरू अत्यधिक आर्थिक घाटामा गई कम्पनी नै बन्द गर्नुपर्ने अवस्था हुन्छ ।’
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले आउँदो सन् २०२५ को वसन्त यामको पर्यटनलाई प्रभावित हुन नदिने गरी निर्धारित समयमै विमानस्थल निर्माणको काम सम्पन्न गर्ने लक्ष्य राखिएको बताए ।