खलङ्गा (दार्चुला) । सरकारले दार्चुलाको त्रिदेशीय सीमा तिङ्करमा अध्यागमन कार्यालय खोल्ने निर्णय गरेको छ । चीनसँग हुने व्यापार सहजताका लागि तिङ्करमा अध्यागमन कार्यालय खोल्ने निर्णयको जिल्लावासीले स्वागतसमेत गरेका छन् ।
कात्तिक ८ गते बसेको मन्त्रिपरिषद् बैठकले सीमा प्रशासन कार्यालय व्यास छाङ्गरु खारेज गर्ने तथा तिङ्करमा अध्यागमन कार्यालय राख्ने निर्णय गरेको थियो । त्यसका लागि सरकारले सङ्गठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने निर्णय गरेको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत सञ्चालित सीमा प्रशासन कार्यालय व्यास छाङ्गरु खारेज गर्ने निर्णय गरेको थियो । सीमा प्रशासन कार्यालय व्यास छाङ्गरुका नामले खोलिएको कार्यालयको कामकाज जिल्ला सदरमुकाम खलङ्गाबाट हुँदै आएको थियो । यसले व्यास गाउँपालिका–१ छाङ्गरु र तिङ्कर जान बहुयात्रा अनुमति पास दिँदै आएको छ ।
नेपालतर्फ बाटो नहुँदा भारतीय मार्ग प्रयोग गर्दै व्यास जानुपर्ने बाध्यता छ । कार्यालय दुईतिर सञ्चालन गर्नुपर्ने बाध्यता हटाउँदै सरकारले तिङ्करमा अध्यागमन कार्यालय खोल्ने तयारी गरेको छ । व्यासको तिङ्करमा अध्यागमन कार्यालय खुल्ने भएपछि स्थानीय राजनीतिक दलका नेता र स्थानीय खुसी भएका छन् ।
यसअघि व्यासको छाङ्गरुमा सीमा प्रशासन कार्यालय रहे पनि नागरिकले सेवा लिन सदरमुकाम खलङ्गा आउनु परेको थियो । हाल तिङ्करमा सशस्त्र प्रहरी र नेपाल प्रहरी पनि बसिसकेको अवस्थामा अध्यागमन कार्यालय सञ्चालन भएपछि यस क्षेत्रको विकासमा सहयोग पुग्ने विश्वास छ । व्यासको तिङ्कर नाका भएर चीनको ताक्लाकोट व्यापार हुँदै आएको छ । पछिल्लो समय कोभिडपछि तिङ्कर नाका खुलेको छ । छाङ्गरुका र तिङ्करका स्थानीय अहिले ताक्लाकोटमा व्यापार गर्ने गर्छन् ।