काठमाडौं । टाटा र मारुती सुजुकी गाडीका उत्पादक भारतीय कम्पनीहरूले यी गाडीको भाउ बढाउने घोषणा गरेपछि नेपालमा पनि यिनको मूल्य बढ्ने देखिएको छ ।
टाटा मोटर्सले सोमवार १ अप्रिल २०२५ देखि आफ्नो सम्पूर्ण कमर्सियल भेहिकल रेन्जमा २ प्रतिशतसम्म मूल्यवृद्धि हुने घोषणा गरेको छ । यो निर्णय विश्वव्यापी रूपमा अटोमोबाइल उद्योगमा भइरहेको लागत वृद्धिका कारण गरिएको र मूल्यवृद्धि मोडेल र भेरियन्टअनुसार फरक पर्न जाने कम्पनीले बताएको छ ।
टाटा मोटर्स भारतको सबैभन्दा ठूलो कमर्सियल भेहिकल निर्माता कम्पनी हो । सिप्रदी ट्रेडिङ प्रालिले सन् १९८२ बाट नेपालमा टाटाको कमर्सियल गाडी विक्री गर्दै आएको छ । नेपाली बजारमा ट्रक, बस, पिकअपजस्ता ढुुवानी साधन टाटाकै बढी विक्री हुने गरेका छन् । ‘भारतमा अटो उद्योगले भोग्नुपरेको संकटको असरस्वरूप भाउ बढाउन लागिएको हो, नेपालमा मूल्यवृद्धिले पक्कै पनि असर गर्नेछ,’ सिप्रदीका एकजना अधिकारीले भने ।
सन् १९९२ बाट सिप्रदीले प्यासेन्जर भेहिकल (कार) विक्री गरिरहेको छ । टाटा सियराबाट यस्तो गाडी विक्री शुरू सिप्रदीले ३ वर्षअघि विद्युतीय गाडी (ईभी)विक्री गर्न थालको हो । नेक्सन ईभी सबैभन्दा बढी विक्री भएको विद्युतीय गाडीमध्येको एक हो ।
मारुती सुजुकीले सोमवार अप्रिल २०२५ देखि आफ्नो सवारीसाधनको मूल्य ४ प्रतिशतसम्म बढाउने योजना बनाएको घोषणा गरेको छ । कम्पनीले उक्त निर्णयको प्रमुख कारण आयात लागत, सञ्चालन खर्च र मुद्रास्फीति दबाब भएको बताएको छ ।
भारतीय सञ्चारमाध्यम दी इकोनोमिक टाइम्सका अनुसार टाटा मोटर्स र मारुती सुजुकीको यो कदम अटो उद्योगको जारी चुनौतीहरूलाई दृष्टिगत गर्दै आएको हो । विश्वव्यापी आपूर्ति शृंखलामा समस्या र कच्चा मालको मूल्य वृद्धिको समस्यामा अटो उद्योगहरू छन । त्यसैले भाउ बढाएको बताइएको छ ।
मारुती सुजुकीले गर्ने मूल्यवृद्धिको असर नेपालमा प्रत्यक्ष पर्नेछ । पेट्रोलियम गाडी उत्पादनमै प्राथमिकता दिएको मारुती सुजुकीले पछिल्लो समय भने विद्युतीय मोडलका गाडीसमेत ल्याएको छ । उसले ई–भिटारा गाडी ल्याएको थियो । मारुती सुजुकी ब्रान्डका सवारीसाधन सन् १९८१ देखि सिजी मोटोकर्पमार्फत नेपाली बजारमा विक्री हुँदै आएको छ ।