रामेछाप जिल्लाको ठोसेस्थित ‘ठोसे फलामखानी’ उत्खननको जिम्मा नेपाल एन्ड चाइना मिनरल्स प्रालि (एनएनसी मिनरल्स) ले पाउने भएको छ । नेपालकै दोस्रो ठूलो उक्त फलामखानीको धाउ (कच्चा पदार्थ) उत्खनन तथा प्रशोधन गर्न एनएनसीलाई जिम्मा दिने तयारी गरिएको खानी तथा भूगर्भ विभागका प्रवक्ता कृष्णदेव झाले अभियानलाई बताए । ‘४ वर्ष अघिदेखि सो खानीको अन्वेषण तथा अध्ययन गर्दै आएको एनएनसीले समेत उत्खननका लागि निवेदन हालेको छ,’ उनले भने, ‘कम्पनीको स्रोतसाधन तथा प्रस्ताव उचित देखिएकाले उसैलाई खानी उत्खननको जिम्मा दिने तयारी गरिएको हो ।’
विभागले पटकपटक गरेको अध्ययनबाट ठोसेमा करीब १ करोड मेट्रिक टन फलामको धाउ रहेको पत्ता लागेको छ । ती धाउमा २२ देखि ६५ प्रतिशतसम्म फलाम रहेको विज्ञहरूको अनुमान छ । अहिले अन्तरराष्ट्रिय बजारमा फलामको मूल्य प्रतिटन १० हजार रुपैयाँसम्म रहेको एनएनसी मिनरल्सका सञ्चालक वाङ्चु शेर्पाले बताए । यसबाट पनि त्यहाँ सय खर्बभन्दा बढी रुपैयाँबराबरको फलाम रहेको देखिन्छ ।
वर्ष ७, अंक ३४१, बिहीवार ७ भदौ, २०६९