काठमाडौं । ट्रेड टावर लिमिटेडले सर्वसाधारणमा जारी गरेको आईपीओ बाँडफाँट गरेको छ । असार १ गते बिहान होटल क्रिष्टल, गौशाला, काठमाडौंमा आईपीओ बाँडफाँट कार्यक्रमको आयोजना गरिएको हो ।
विक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाको माध्यमबाट ३ लाख २९ हजार ६५० जना आवेदकहरूमा आईपीओ बाँडफाँट गरिएको जानकारी दिएको हो ।
क्यापिटलका अनुसार पहिलो चरणमा १० कित्ताका दरले आईपीओ बाँडफाँट गर्दा बाँकी रहेको ५ दशमलव १९ कित्ता शेयरमध्ये ५ जनालाई थप १-१ कित्ताका दरले र तीमध्ये १ जनालाई थप शून्य दशमलव १९ कित्ता शेयर बाँडफाँट गरिएको हो ।
कम्पनीले सर्वसाधारणका लागि जेठ १४ गतेदखि २० गतेसम्म ३२ लाख ९६ हजार ५०५ दशमलव १९ कित्ता आईपीओ निष्कासन गरेको थियो । कम्पनीको आईपीओमा २० लाख ७४ हजार २८५ जना आवेदकहरूबाट २ करोड ३९ लाख ७ हजार ६०० कित्ता शेयर खरीदका लागि आवेदन परेको थियो ।
कुल आवेदनमध्ये १४ हजार ८९७ आवेदन भने रितपूर्वक नभएकाले रद्द गरिएको छ । योग्य २० लाख ५९ हजार ३८८ जना आवेदकहरूको आवेदन बाँडफाँटमा सहभागी गराइएको थियो । ट्रेड टावरले जारी पूँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँको ४८ दशमलव ६९६ प्रतिशतले हुने ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँ बराबरको ३९ लाख ७१ हजार ६९३ कित्ता आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
जसमध्ये १० प्रतिशतले हुने ३ लाख ९७ हजार १६९ दशमलव ३० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीमा, ५ प्रतिशतले हुन आउने १ लाख ९८ हजार ५८४ दशमलव ६५ कित्ता सामूहिक लगानीकोषका लागि र २ प्रतिशतले हुन आउने ७९ हजार ४३३ दशमलव ८६ कित्ता कम्पनीका कर्मचारीका लागि समेत बाँडफाँट गरिसकेको छ ।
यो कम्पनी २०७८ माघ १२ गतेदेखि निरन्तर सञ्चालनमा छ । कम्पनीले लिजिङ्ग एण्ड फाइनान्सिङ, प्रोजेक्ट डेभलपमेन्ट, पूर्वाधार विकासका क्षेत्रलगायत होटल, हस्पिटालिटी र पर्यटन क्षेत्रमा समेत काम गर्दै आएको छ ।
कम्पनीको पहिलो परियोजना काठमाडौंको थापाथलीमा ट्रेड टावर रहेको छ । नेपाल खाद्य संस्थानको जमिन ३० वर्षका लागि लिजमा लिएर नेपालकै सबैभन्दा ठूलो कर्पोरेट कम्प्लेक्ट निर्माण गरी विगत १५ वर्षदेखि सञ्चालनमा छ ।
कम्पनीले ललितपुरमा भैंसेपाटीमा १९० ओटा अपार्टमेन्ट निर्माण तथा विक्री गरी दोस्रो परियोजना सफलतापूर्वक सम्पन्न गरिसकेको छ ।
हाल तेस्रो परियोजनाको रूपमा काठमाडौंको गौशालास्थित पशुपतिनाथ मन्दिरको दक्षिणतर्फ रिङरोडमा जोडिएको करीब ४ रोपनी जमिन ३५ वर्षका लागि लिजमा लिएर क्रिष्टल पशुपतिका नाममा ७ तले भवन निर्माण भई आंशिक रूपमा होटल सञ्चालन गरिरहेको छ ।
कम्पनीले आगामी दिनमा देशका ७ ओटै प्रदेशमा एक–एक ओटा पर्यटनसम्बन्धी परियोजना विकास गर्ने लक्ष्य लिएको छ ।