नेपाल राष्ट्र बैङ्कले गत साता जारी गरेको ट्रेजरी बिलमा चार गुणा बढी प्रस्ताव परेको छ । राष्ट्र बैङ्कले रू. ८५ करोडको ९१ दिने ट्रेजरी बिलका लागि प्रस्ताव आह्वान गरेकोमा रू. ३ अर्ब ६९ करोडको प्रस्ताव परेको थियो । यसमा लगानीकर्ताले उच्चतम बट्टादर (डिस्काउण्ट रेट) २ दशमलव ९९ प्रतिशतदेखि न्यूनतम १ दशमलव ५१ प्रतिशतसम्म प्रस्ताव गरेका थिए ।
यसको भारित औसत २ दशमलव १६ थियो । राष्ट्र बैङ्कले उक्त प्रस्तावमा निर्धारित ८५ करोडको मात्रै ट्रेजरी बिल जारी गरेको छ । गत साता २८ दिने ट्रेजरी बिलमा पनि मागभन्दा बढी प्रस्ताव परेको थियो । रू. १ अर्ब १६ करोडका लागि प्रस्ताव आह्वान गरिएकोमा रू. १ अर्ब ८५ करोडको प्रस्ताव परेको थियो । यसका लागि प्रस्तावकले अधिकतम बट्टादर ४ दशमलव १ प्रतिशतदेखि न्यूनतम शून्य दशमलव ७१ प्रतिशतसम्म प्रस्ताव गरेका थिए । यसको भारित औसत २ दशमलव ५४ थियो ।
वर्ष ८, अंक १५०, आइतवार, ६ फागुन, २०६९