काठमाडौं । सामाजिक सञ्जाल कम्पनी मेटाले मासिक सब्सक्रिप्शन सेवा शुरु गर्दैछ । कम्पनीले सहायक कम्पनी फेसबुक र इन्ष्टाग्रामका लागि पेड सब्सक्रिप्शन सेवाको घोषणा गरेको छ । यसमा कम्पनीले पैसा लिएर प्रयोगकताहरूलाई नयाँ सुविधा र सुरक्षाका साथमा भेरिफाइड एकाउन्ट दिनेछ ।
विज्ञापन आम्दानी घट्न थालेपछि मेटाले आम्दानीको नयाँ स्रोत खोज्न पेड फिचर शुरु गर्न लागेको हो । यसमा प्रयोगकर्ताहरूले सरकारी आईडीको प्रयोग गरेर आफ्नो खातालाई भेरिफाइ गरेर निलो ब्याज लिन पाउनेछन् । यो सेवाको नाम कम्पनीले मेटा भेरिफाइड राखेको छ ।
कम्पनीले यही हप्ताको अन्त्यतिर इन्ष्टाग्राम र फेसबुकका लागि वेबमा ११ डलर ९९ सेन्ट र एन्ड्रोइड वा आईओएसमा १४ डलर ९९ सेन्टमा सेवा शुरु गर्दैछ । यसमा छद्म नाममा खाता चलाउन नदिने अतिरिक्त सुरक्षा फिचर छ । कम्पनीले यो सेवाको शुरुआत यही हप्ता अष्ट्रेलिया र न्यूजिल्यान्डबाट गर्नेछ । त्यसपछि विस्तारै अन्य बजारमा पनि यो सेवा लैजाने कम्पनीको तयारी छ ।
अमेरिकी माइक्रोब्लगिङ वेबसाइट ट्विटरले महिनेपिच्छे ११ डलर लिएर पेड सब्सक्रिप्शन सेवा ट्विटर ब्लु शुरु गरेको थियो । त्यसैलाई पछ्याएर मेटाले पनि सब्सक्रिप्शन सेवा शुरु गरेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकारी मार्क जुकरबर्गले यसअघि नै सर्जकहरूलाई थप उत्पादनशील र सृजनशील बनाउन नयाँ प्रडक्टहरू ल्याउने योजना भइरहेको र यी प्रविधिलाई टेवा दिन प्रयोगकर्ताहरूको खर्च बढ्न सक्ने चेतावनी दिएका थिए ।
स्न्याप इंकको स्न्यापच्याट र मेसेजिङ एप टेलिग्रामले पनि गएको वर्ष आम्दानीको नयाँ स्रोतका लागि पेड सब्सक्रिप्शन शुरु गरेको थियो ।
खर्च कम गर्न अनि आम्दानीको नयाँ स्रोत बढाउन सामाजिक सञ्जाल कमपनीहरूले फरक फरक सुविधासहितको सेवा शुरु गरेका छन् । गएको त्रैमासमा लगातार तेस्रो पटक मेटाको आम्दानी घटेको छ ।
खर्च कटौती गर्न कम्पनीले १३ प्रतिशत कर्मचारीलाई कामबाट निकाल्ने भएको छ । आफ्नो सेवाहरूमा प्रमाणीकता र सुरक्षा बढाउन नयाँ फिचर ल्याइएको जुकरबर्गले बताएका छन् । मेटाले पहिलेदेखि नै राजनीतिज्ञ, कार्यकारी, सञ्चारकर्मी जस्ता प्रख्यात व्यक्तिहरूलाई भेरिफिकेशन दिँदै आएको थियो । अब भने पैसा लिएर यो सेवा दिन थालेको हो । एजेन्सी