सरकारले जलविद्युत्, पर्यटन र कृषिलाई तुलनात्मक लाभको क्षेत्रका रूपमा निर्धारण गरेको छ । यी क्षेत्रको समुचित विकास हुँदा समग्र मुलुक र जनताको जीवनस्तरमा समेत सुधार आउँछ । ठूला जलविद्युत् आयोजनाको निर्माणको क्रममा ठूलो संख्यामा रोजगारी सृजना हुन्छ । त्यसैले यस क्षेत्रमा स्वदेशी र विदेशी निजी लगानीकर्तालाई आकर्षित गर्न आवश्यक छ । यसका लागि सरकारले नै पहल गर्नुपर्छ ।
राज्यको प्रयासबाट मात्र जलविद्युत्को पर्याप्त विकास हुन सक्दो रहेनछ भन्ने तथ्य प्रमाणित भइसकेको छ । त्यसैले यसमा निजीक्षेत्र र विदेशी लगानी आकर्षित गर्ने प्रस्ट नीति बन्नुपर्छ । पूर्वाधारको विकास हुन सकेन भने बजारको समस्या हुन्छ । बजारलाई जोड्ने पुलको काम पूर्वाधारले नै गर्छ । सरकारले त्यही पूर्वाधारको विकास गर्न सकिरहेको छैन । यस्तो अवस्थामा ७ प्रतिशतको आर्थिक वृद्धिदर सम्भव छैन । हुन त सरकारी दस्तावेज तथा आर्थिक नीतिहरूमा पूर्वाधारको विकासलाई उच्च प्राथमिकतामा राखिन्छ । तर, कार्यान्वयन पक्ष फितलो हुँदा पूर्वाधारको विकास सोचेअनुरूप हुन सकेको छैन । त्यस्तै, नेपालले चाँडै लाभ लिन सक्ने अर्को महत्त्वपूर्ण क्षेत्र भनेको कृषि हो । १९ ओटा कृषि उपजलाई निर्यातको सूचीमा राखिएको छ । हामीले कृषि उपजलाई प्रशोधन गरी निर्यात गर्न सक्यौं भने बढी लाभ लिन सक्छौं । यसका लागि बजारको समस्या छैन ।
(पूर्व अर्थसचिव भानु आचार्यसँगको कुराकानीबाट) वर्ष ८, अंक १४७, बुधवार, २ फागुन, २०६९