नेपालमा अहिले आर्थिक क्रियाकलाप शून्यप्राय: नै छ भने पनि हुन्छ । निजीक्षेत्र नयाँ लगानीका लागि उत्प्रेरित छैन । अझ चन्दाआतङ्कलगायत अनेक कारणले निजीक्षेत्र सन्त्रस्त बनिरहेको बेला लगानी विस्तार हुनु भनेको अचम्मलाग्दो कुरा हो । यो अवस्थाबाट पार पाउन र मुलुकलाई आर्थिक समृद्धिको दिशामा डोर्याउन आधारभूत तहबाटै पहल थाल्नुपर्छ । यसमा सरकारको भूमिका प्रधान हुन्छ । खासगरी गुमेको व्यावसायिक वातावरणलाई पुन:स्थापना गर्न सरकारको भूमिका महत्त्वपूर्ण हुन्छ । तर, सरकारको ध्यान यतिखेर अन्तै छ ।
अहिले आर्थिक वृद्धिदर बढाउन के गर्नुपर्ला भन्ने चासो र चिन्ता सबै क्षेत्रबाट उठ्ने गरेको छ । अझ हाम्रा छिमेकी मुलुक भारत र चीनले गरेको अभूतपूर्व आर्थिक वृद्धिदरले हामीलाई लाजमर्दो अवस्थामा पुर्याएको छ । हुन त आर्थिक विकासको बाटोमा हाम्रो मुलुकलाई हिँडाउनै सक्ने भने होइन । यसका लागि हामीले विकासका क्षेत्र पहिचान गर्न सक्नुपर्छ । ५ प्रतिशतभन्दा कम आर्थिक वृद्धिदर हासिल गरिरहेको अवस्थामा ७ प्रतिशतको वृद्धिदर पहाडैजस्तो लाग्न सक्छ । तर, नेपालको आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्याउन गाह्रो छैन । मुख्य कुरा हाल भइरहेको लगानीमा कृषिमा ४–५ प्रतिशत तथा उद्योग र सेवाक्षेत्रमा ८ प्रतिशतजति लगानी बढाउने हो भने ७ प्रतिशत आर्थिक वृद्धिदर खासै चुनौती होइन ।
(पूर्वअर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीसँगको कुराकानीबाट) वर्ष ८, अंक १५१, आइतवार, ६ फागुन, २०६९