चितवन । उद्योग तथा वाणिज्य कार्यालय, चितवनले सेवाग्राहीलाई छिटो र सहज रूपमा सेवा दिन एकीकृत सेवा प्रवाह कक्ष सञ्चालनमा ल्याएको छ । यस कार्यालयलाई बागमती प्रदेशकै नमूना कार्यालय बनाउने गरी एकीकृत सेवा प्रवाह कक्ष सञ्चालनमा ल्याइएको हो । हाल उक्त कक्ष परीक्षणका रूपमा सञ्चालनमा ल्याइएको छ । सेवाग्राहीले सेवा प्रवाह कक्षका कर्मचारीलाई आवश्यक कागजपत्र बुझाएपछि सबै काम कर्मचारीले नै गर्छन् ।
कागजपत्र पुगेमा ३० मिनेटदेखि एक घण्टाभित्र सबै काम सकिएर सेवाग्राही फर्किन सक्ने कार्यालय प्रमुख विनोद पौडेलले जानकारी दिए । ‘सेवाग्राहीले एकीकृत सेवा प्रवाह कक्षका कर्मचारीलाई डकुमेन्ट बुझाएपछि कर्मचारीले डकुमेन्ट पूरा भए/नभएको यकिन गर्छन् । पूरा भएको छ भने शुल्क (कर) निर्धारण हुन्छ, त्यसपछि अरू प्रक्रिया अघि बढ्छ,’ उनले भने, ‘फाइल कहाँ–कहाँ लैजानुपर्ने हो, सबै कर्मचारीले नै गर्छन् । सेवाग्राहीहरू सेवा प्रवाह कक्षमा राखिएका कुर्सीमा बस्ने मात्र हो ।’
फर्म दर्ता तथा नवीकरण शुल्क अनलाइन प्रणालीबाटै तिर्न सकिने उनले बताए । उनका अनुसार ई–सेवा, खल्ती, कनेक्ट आइपिएस र आइएमई पेमार्फत शुल्क भुक्तानी गर्न सकिन्छ । अनलाइन भुक्तानीका माध्यम चलाउन नजान्ने सेवाग्राहीले नजिकको बैंकमा पुगेर राजस्व भुक्तानी गर्नुपर्छ । त्यसका लागि कार्यालयले नै भौचर प्रिन्ट गरेर दिने पौडेलले बताए । राजस्व भुक्तानीको भौचर बुझाएको ३० मिनेटदेखि एक घण्टाभित्र सेवाग्राहीका सबै काम सकिने उनको दाबी छ ।
काम सम्पन्न भएपछि सेवाग्राहीले सेवा प्रवाह कक्षबाटै प्रमाणपत्र पाउनेछन् । राजस्व भुक्तानी थप सहज बनाउन पोइन्ट अफ सेल (पोस) मेसिन ल्याउने तयारी भइरहेको पौडेलले बताए । उक्त मेसिन आएपछि सेवाग्राहीले क्युआर कोड स्क्यान गरी सहजै राजस्व भुक्तानी गर्न सक्ने उनको भनाइ छ । सेवा प्रवाह कक्षमा प्रतीक्षा गर्न सेवाग्राहीका लागि कुर्सी, टिभी, नि:शुल्क वाइफाइ, शुद्ध खानेपानीलगायतको व्यवस्था गरिएको छ । सेवा प्रवाहसम्बन्धी सूचनासहितको डिजिटल बडापत्र पनि राख्ने कार्यालयको योजना रहेको उनले जानकारी दिए ।
कार्यालयले दिएको तालीम लिएका उद्यमीले उत्पादन गरेका वस्तुको नि:शुल्क प्रचार पनि गरिने पौडेलले बताए । जिल्लाका सातओटै पालिकाका उद्यमीले उत्पादन गरेका नमूना उत्पादनको प्रदर्शनीका लागि डिस्प्ले क्याबिनेट समेत बनाइएको छ ।