चैत १५, काठमाडौं । मोरङका उद्योगीले नेपाल विद्युत् प्राधिकरणले उद्योगहरुमा १४ घण्टासम्म लोडसेडिङ गरेकोप्रति आफुहरुको ध्यानाकर्षण भएको बताएका छन् ।
मंगलवार उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ, प्रदेश नम्बर १ले संयुक्त विज्ञप्ति निकाल्दै प्राधिकरणले औद्योगिक क्षेत्रमा १४ घण्टासम्म लोडसेडिङ गरेकोप्रति उद्योगीहरुको गम्भीर ध्यानाकर्षण भएको जानकारी गरएका हुन् ।
‘प्राधिकारणले औद्योगिक क्षेत्रहरुमा गत हप्तादेखि १४ घण्टासम्म औद्योगिक क्षेत्रमा अघोषित रुपमा लोडसेडिङ गरिएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा उल्लेख छ ।
दुई वर्षयता कोभिड - १९ ले थला परेको उद्योगहरु वित्तीय संकट झेलिरहेको अवस्थामा १४ घण्टासम्म अघोषित लोडसेडिङले उद्योग कलकारखान चलाउनै नसक्ने अवस्थामा पुगेको उद्यागीहरुको भनाइ छ ।
औद्योगिक क्षेत्रले वित्तीय संकट झेलिरहेको अवस्थामा सम्बन्धित निकाय गम्भीर भई तत्काल विद्युत् आपूर्ति सूचारु गरिदिन उद्योगीहरुको माग छ । ‘सम्बन्धित निकाय गम्भीर भएर विद्युत् आपूर्ति नगर्ने हो भने सम्पूर्ण उद्योगहरु वन्द गर्न बाध्य हुने र यसबाट सृजना हुने थप भयावह अवस्थातर्फ गम्भीर हुन सम्वन्धित पक्षलाई समयमै सचेत हुन आग्रह गर्दछौं’ संयुक्त विज्ञिप्तमा उल्लेख गरिएको छ ।
विद्युतको वास्तविक अवस्थाबारे गुमराहमा
विद्युत् प्राधिकरणले विद्युतको वास्तविक अवस्थाका बारेमा आमसर्वसाधारणलाई गुमराहमा पारेको आरोप उद्योगीहरुको छ । यसअघि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योग उद्योगमै पुगेर चाहिएजति विद्युत् उपलब्ध गराउने प्रतिबद्धता गर्दै आएका थिए । तर, पछिल्लो समय एक्कासी आएर विद्युत् आयात गर्न सकिएन भन्न नसुहाउने उद्योगीहरुको तर्क छ ।
‘पछिल्लो समयमा प्रायः दैनिक जसो सरकार तथा प्राधिकरणका जिम्मेवार पदाधिकारीहरुबाट उद्योग उद्योग मै पुगेर चाहिएजति विद्युत दिन्छौं भन्दै लगानी बढाउन प्रेरित भइरहेको थियो’ विज्ञप्तमा उल्लेख गरिएको छ, ‘तर आज आएर एक्कासी मूल्य वृद्धि भयो, विद्युत् आयात गर्न सकिएन भन्नु हाम्रो उर्जाको वास्तविक अवस्थाका बारेमा आमजनतालाई गुमराहमा राखेको ठहर गरेका छौं ।’
बेलुकाको ११ः५९ मिनेटसम्म विद्युत निर्यात गर्ने अवस्था रहेकोमा १२ बजे देखि एक्कासी युट्रर्न भई विद्युत संकटको अवस्था सिर्जना भएको जनाई विद्युत आपूर्ति बन्द गरिनु जस्तो गैरजिम्मेवारी विषयमा सरकारको जवाफदेहिता खोजेको उद्योगीहरुले बताएका छन् ।