भारतीय आयुर्वेदिक औषधिले नेपाली बजारको ८० प्रतिशत हिस्सा ओगटेको छ । भारतीय उत्पादनको बजार हिस्सा घटाउन नेपाली उत्पादन बढाउनुको विकल्प छैन । नेपालको आयुर्वेदिक औषधि उद्योग र व्यवसायको भविष्य राम्रो छ । आयुर्वेदिक औषधि उद्योगले सरकारबाट यथोचित सुविधा अहिलेसम्म पाउन सकेका छैनन् ।
नेपालमा अहिलेसम्म ५२ ओटा यस्ता उद्योग दर्ता भएका छन् । तीमध्ये २४–२५ ओटा उद्योगले मात्र नियमित उत्पादन गरिरहेका छन् । नेपाली आयुर्वेदिक औषधिको गुणस्तरका बारेमा बेलाबेला नकारात्मक टिप्पणी हुने गरेको छ । नियमित गुणस्तर परीक्षणको व्यवस्था गर्न सके त्यस्तो गलत टिप्पणी आउँदैन । तर, अहिले सरकारी स्वामित्वको सिंहदरबार वैद्यखाना आयुर्वेदिक औषधि उद्योगको त गुणस्तर परीक्षण हुन सकेको छैन भने निजीक्षेत्रबाट सञ्चालित उद्योगले कसरी गुणस्तर परीक्षण गर्न सक्छन् ? यसका लागि सरकारले सहयोग गर्नुपर्ने हो । तर, यसप्रति सरकारको चासो नै छैन ।
(नेपाल हर्ब एन्ड हर्बल प्रडक्ट एसोसिएसनका सचिव विनोद अधिकारीसँगको कुराकानीबाट) वर्ष ८, अंक ८५, बिहीवार २८ मङ्सिर, २०६९