साउन १२, काठमाडौं (अस) । साताको पहिलो कारोबार दिन आइतवार नेप्से परिसूचक घटेर बन्द भएको छ । आइतवार नेप्से परिसूचक १७ दशमलव ११ अंक घटेर १ हजार २५२ दशमलव ८० विन्दुमा बन्द भएको छ । १ हजार २६९ दशमलव ९१ विन्दुबाट शुरु भएको परिसूचक कारोबारको शुरुको केही मिनेटमै बढेर १ हजार २७० दशमलव ४६ विन्दुसम्म पुगेको थियो । सो विन्दु पश्चात नेप्से ओरालो लागेको हो । कारोबारको पहिलो घण्टाको अवधिमा निरन्तर घटेको परिसूचक १ हजार २५८ दशमलव १० विन्दु पश्चात घटबढ हुँदै अन्त्यमा १ दशमलव ३५ प्रतिशत घटेर बजार बन्द भएको छ ।
मौद्रिक नीतिले मर्जरमा जाने बैंकहरुलाई सहुलियत दिएपनि मर्जरमा गएपछिको कारोबार रोक्का विषयमा लगानीकर्ताहरु स्पष्ट नभएको गुनासो छ । यद्यपि लगानीकर्ताहरुलाई मौद्रिक नीतिले ल्याएको निराशामा अबको पूँजीबजार क्षेत्रबाट सकारात्मक शिक्षा दिन सकेमा भने बजार सुधार हुन सक्ने एक शेयर लगानीकर्ताको भनाइ छ । बजार विकास क्रमसँगै भएका र आउँदै गरेका सुधारहरुलाई हेर्ने हो भने आगामी दिनमा बजारले सकारात्मक पाटो अंगाल्ने उनको भनाइ छ ।
आइतवार कारोबारमा आएका ११ समूहमध्ये म्युचुअल फन्ड समूहको परिसूचक १ दशमलव ६४ प्रतिशत बढेको छ भने बाँकी सबै समूहहरुको परिसूचक घटेर बन्द भएको छ । निर्जीवन बीमा समूहको परिसूचक सर्वाधिक १ दशमलव ९६ प्रतिशत घटेको छ । यस्तै बैंकिङ, जलविद्युत, ‘अन्य’, लघुवित्त, र जीवन बीमा समूहहरुको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ ।
आइतवारको कारोबार
आइतवार रू. ४९ करोड २६ लाख बराबरको शेयर कारोबार भएको छ । यो अघिल्लो कारोबार दिनको तुलनामा १० दशमलव ५१ प्रतिशत कम हो । बिहीवार रू. ५५ करोड ५ लाख रकम बराबरको कारोबार भएको थियो । सेन्सेटिभ इन्डेक्स भने ३ दशमलव ४३ अंक घटेर २७० दशमलव शून्य ४ विन्दुमा पुगेको छ ।
सिर्जना फाइनान्सको शेयरमूल्य बढेर सर्किट ब्रेक
आइतवार सिर्जना फाइनान्स वित्तीय संस्थाको शेयरमूल्यमा ९ दशमलव ७२ प्रतिशत बढेर सकारात्मक सर्किट ब्रेक लागेको छ । कम्पनीको शेयरमूल्यमा प्रतिकित्ता रू. २१ ले वृद्धि भई अन्तिम शेयरमूल्य प्रतिकित्ता रू. २३७ रहेको छ । यस्तै, दोस्रोमा युनिभर्सल पावर कम्पनीको शेयरमूल्य ४ दशमलव ६० प्रतिशत बढेको छ । त्यसैगरी, युनियन हाइड्रोपावरको शेयरमूल्य ८ दशलमव २३ प्रतिशत घटेर रू. ७८ मा सिमित भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकत्ता रू. ५२ ले घटेको हो ।
११ समूहको परिसूचक
कृषि विकास बैंकको सर्वाधिक कारोबार
यस दिन कृषि विकास बैंकको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ९६ हजार १२९ कित्ता शेयरको खरीदविक्री हुँदा रू. ४ करोड ८ लाख बराबरको शेयर कारोबार भएको छ । कम्पनीको अन्तिम शेयरमूल्य रू. ४२५ रहेको छ । कारोबार रकमकै आधारमा दोस्रोमा नेपाल बैंकको रू. ४ करोड १ लाख बराबरको शेयर कारोबार भएको छ । कम्पनीको शेयरमूल्य रू. ३३९ पुगेको छ । यस दिन कारोबारमा आएका १६६ कम्पनीमा २२ कम्पनीको शेयरमूल्य बढेको छ भने १३५ कम्पनीको घटेको छ । साथै, ९ कम्पनीको शेयरमूल्य भने स्थिर रहेको छ ।