काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी पुस २४ गते छैठौं वार्षिक साधारण सभा बोलाएको छ ।
मंसिर २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले होटल सेन्टर प्लाजा कोहलपुर, बाँकेमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।
अन्य लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जाने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले पुस ८ गते एक दिन बुक क्लोज गर्न लागेको छ ।
बुक क्लोजको आधारमा पुस ७ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् ।
कम्पनीले यस वर्ष लाभांश प्रस्ताव भने गरेको छैन । यसअघि कम्पनीले आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट ६१ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ३ दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।