काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा उत्पादन तथा प्रशोधन समूहका ९ सूचीकृत कम्पनीहरूमध्ये आठ कम्पनीले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । नेपाल ल्यूब आयल लिमिटेडले भने हालसम्म चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छैन ।
वित्तीय विवरण सार्वजनिक गरेका ८ कम्पनीहरूमध्ये तीन कम्पनी घाटामा छन् भने बाँकी पाँच कम्पनी नाफामा छन् । सर्वोत्तम सिमेन्ट, सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड र घोराही सिमेन्ट इन्डष्ट्रि घाटामा छन् ।
पहिलो त्रैमासमा यी तीन कम्पनीमध्ये घोराही सिमेन्टले सबैभन्दा बढी रू. ५१ करोड ३७ लाख नोक्सानी व्यहोरेको छ । यो कम्पनी गत आवको पहिलो त्रैमासमा रू. १९ करोड ८८ लाख नोक्सानीमा थियो । पहिलो त्रैमासमा विक्री लागत बढेकाले र आम्दानी घटेकाले कम्पनी नोक्सानीमा रहेको हो । कम्पनीको विक्री लागत गत आवको पहिलो त्रैमासमा रू. १२ करोड ४९ लाख रहेकोमा चालू आवको सोही अवधिमा बढेर रू. २५ करोड २४ लाख पुगेको छ ।
त्यस्तै सिमेन्ट उद्योगको बजारमा मागभन्दा बढी उत्पादन भएकाले प्रतिस्पर्धात्मक स्थितिमा विक्रीमा अपेक्षा अनुसार वृद्धि नभएको कम्पनीले वित्तीय विवरणमा उल्लेख गरेको छ । गत आवमा कम्पनीको आम्दानी रू. ८८ करोड ८८ लाख रहेकोमा चालू आवमा रू. ६६ करोड ८४ लाखमा सीमित भएको छ । त्यस्तै सोनापुर मिनरल्सले पहिलो त्रैमासमा रू. ८ करोड ५५ लाख र सर्वोत्तम सिमेन्टले रू. २ करोड २५ लाख नोक्सानी व्यहोरेका छन् ।
नाफामा रहेका ४ कम्पनीहरूमध्ये युनिलिभर नेपाल, बोटलर्स नेपाल तराई र बोटलर्स नेपाल बालाजुको नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा घटेको छ भने हिमालयन डिष्टिलरीको नाफा ८९ प्रतिशत वृद्धि भएको छ । यस कम्पनीले गत आवमा रू. १० करोड ५१ लाख नाफा कमाएकोमा चालू आवमा रू. १९ करोड ८८ लाख कमाएको छ ।
पहिलो त्रैमासमा सबैभन्दा बढी नाफा कमाउनेमा युनिलिभर नेपाल छ । कम्पनीले सो अवधिमा रू. ५२ करोड ६९ लाख नाफा कमाएको हो । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा ४ प्रतिशत कम हो । गत आवको सो अवधिमा कम्पनीले रू. ५५ करोड २५ लाख नाफा कमाएको थियो ।
त्यस्तै बोटलर्स नेपाल बालाजुले चालू आवको पहिलो त्रैमासमा रू. ८ करोड ४३ लाख र बोटलर्स नेपाल तराईले रू. ८ करोड १८ लाख नाफा कमाएको छ ।
कम्पनीको नाम | खुद नाफा/नोक्साान रू. हजारमा | ||
चालू आवको पहिलो त्रैमास | गत आवको पहिलो त्रैमास | ||
युनिलिभर नेपाल | 526,900 | 552,500 | -4.63 |
हिमालयन डिष्टीलरी | 198,871 | 105,199 | 89.04 |
बोटलर्स नेपाल बालाजु | 84,383 | 105,305 | -19.87 |
बोटलर्स नेपाल तराई | 81,807 | 133,036 | -38.51 |
शिवम सिमेन्ट | 12,799 | -53,420 | - |
सर्वोत्तम सिमेन्ट | -22,584 | - | |
सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड | -85,532 | - | |
घोराही सिमेन्ट इण्डष्ट्री | -513,774 | -198,823 | - |
स्रोत : सम्बन्धित कम्पनीले प्रकाशित गरेको चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण ।