काठमाडौं। नेपालका वाणिज्य बैंकहरूसँग मात्र करीब साढे ६ खर्ब लगानीयोग्य पूँजी (तरलता) थुप्रिएको छ । निक्षेपको तुलनामा कर्जाको विस्तार नहुँदा बैंकहरूसँग तरलता बढेको हो ।
फागुनसम्ममा वाणिज्य बैंकहरूको औसत कर्जा निक्षेप अनुपात (सीडी रेशियो) ७९ दशमलव २९ प्रतिशत रहेको नेपाल बैंकर्स संघको तथ्यांक छ । केन्द्रीय बैंकको प्रावधान अनुसार बैंक तथा वित्तीय संस्थाहरूको सीडी रेशियोको अधिकतम सीमा ९० प्रतिशत रहेको छ, जसअनुसार वाणिज्य बैंकहरूसँग अझै ६ खर्ब ४६ अर्ब रुपैयाँ थप कर्जा विस्तारको क्षमता छ ।
सीडी रेशियोको अधिकतम सीमा ९० प्रतिशतको अर्थ बैंकहरूले एक सय रुपैयाँ निक्षेप संकलन गर्दा ९० रुपैयाँसम्म कर्जा प्रवाह गर्न सक्छन् । तर, हाल बैंकहरूले १०० रुपैयाँ संकलन गर्दा ७९ रुपैयाँ २९ पैसा मात्र कर्जा प्रवाह गरेका छन् ।
बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्मा बैंकमा कर्जाको माग कम हुँदा तरलता बढ्दै गएको बताउँछन् । ‘रेमिट्यान्स आप्रवाह उच्च हुँदा निक्षेप बढे पनि त्यसअनुसार कर्जा प्रवाह हुन सकेको छैन,’ उनले भने, ‘त्यसैले पनि बैंकमा तरलता बढिरहेको छ ।’ पछिल्ला महीनाहरूमा कर्जाको प्रवाहमा केही वृद्धि भए पनि बैंकको क्षमता अनुसार माग नभएको उनले उल्लेख गरे ।
संघका अनुसार राष्ट्रिय वाणिज्य बैंकको सीडी रेशियो सबैभन्दा कम ६३ दशमलव ८६ प्रतिशत कायम हुँदा माछापुच्छे्रको सबैभन्दा बढी ८५ दशमलव ६५ प्रतिशत रहेको छ ।
चालू आर्थिक वर्षको फागुनसम्ममा वाणिज्य बैंकहरूले ६० खर्ब ३७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४८ खर्ब ५० अर्ब कर्जा प्रवाह गरेका छन् । गत आवकोे असारको तुलनामा चालू आवको ७ महीनामा वाणिज्य बैंकहरूले २ खर्ब ८२ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा २ खर्ब ७९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । माघको तुलनामा फागुनमा ३९ अर्ब ९९ करोड निक्षेप संकलन गर्दा २२ अर्ब ७४ करोड कर्जा प्रवाह गरेका छन् ।
चालू आवको ७ महीनामा वाणिज्य बैंकहरूमध्ये एनआईसी एशियाको मात्र निक्षेप ६१ करोड ८६ लाख रुपैयाँले घटेको छ । यसैगरी यस अवधिमा तीनओटा बैंकको कर्जा प्रवाह घट्दा एनआईसी एशियाको सबैभन्दा बढी ३५ करोड ४३ लाख घटेको बैंकर्स संघको तथ्यांक छ । राष्ट्र बैंकको तथ्यांक अनुसार मंगलवारसम्म बैंक तथा वित्तीय संस्थाले ६७ खर्ब ५२ अर्ब निक्षेप संकलन गरी ५४ खर्ब ५५ अर्ब कर्जा प्रवाह गरेका छन् । बैंक, वित्तीय संस्थाको औसंत सिडी रेशियो ७९ दशमलव ५२ प्रतिशत मात्र कायम भएकाले अझै ७ खर्ब १३ अर्ब रुपैयाँ कर्जा विस्तार गर्ने क्षमता छ ।