काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१ मा अधिकांश वाणिज्य बैंकहरूको लाभांश वितरण क्षमता घटेको छ । चारओटा बैंकले लाभांश वितरण गर्न नसक्ने अवस्था देखिएको छ ।
वाणिज्य बैंकहरूले सार्वजनिक गरेको गत आर्थिक वर्ष (आव) को अपरिष्कृत वित्तीय विवरणअनुसार तेस्रो त्रैमासको तुलनामा चौथो त्रैमासमा लाभांश वितरण गर्न नसक्ने बैंकको संख्या घटे पनि अधिकांश बैंकका लगानीकर्ताले धेरै प्रतिफल पाउने छैनन् ।
नेपाल इन्भेष्टमेण्ट मेगा, कुमारी, एन.आई.सी. एशिया र हिमालयन बैंकको लाभांश वितरण क्षमता शून्य रहेको ती बैंकको वित्तीय विवरणमा उल्लेख छ ।
गत आवको तेस्रो त्रैमासको विवरणअनुसार यी चार बैंकका अतिरिक्त लक्ष्मी सन्राइज, नेपाल, एनएमबि, ग्लोबल आइएमई, माछापुच्छ्रे र सिद्धार्थ बैंकको वितरणयोग्य नाफा ऋणात्मक थियो । यसको अर्थ अन्तिम त्रैमासमा ६ ओटा वाणिज्य बैंक केही न केही लाभांश वितरण गर्न सक्षम भए ।
लाभांश वितरण गर्न नसक्ने बैंकहरूबाहेक १० वाणिज्य बैंकको लाभांश वितरण क्षमता अघिल्लो आवको तुलनामा घटेको छ, जसमा एनएमबि, सिद्धार्थ, ग्लोबल आइएमई, राष्ट्रिय वाणिज्य, माछापुच्छ्रे, सिटिजन्स, लक्ष्मी सन्राइज, सानिमा, स्ट्याण्डर्ड चार्टर्ड र एभरेष्ट बैंक पर्छन् ।
पूर्वबैंकर भुवन दाहालले उच्च गैरबैंकिङ सम्पत्ति र उठाउन नसकेको ब्याजका कारण लाभांश वितरण गर्न सक्ने क्षमता धेरै बैंकहरूको घटेको बताए । यसअघि वैशाखमा पनि उनले वाणिज्य बैंकहरूले पाकिसकेको ब्याज ऋणीबाट उठाउन नसक्दा त्यसलाई नाफा देखाउन नपाएको आर्थिक अभियानलाई बताएका थिए । ‘यसरी नउठेको ब्याज बराबरको रकम नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार रेगुलेटरी एडजस्टमेन्ट गर्नुपर्ने भएकाले वितरणयोग्य नाफामा देखाउन पाइँदैन,’ उनले भने ।
राष्ट्र बैंकका अनुसार रेगुलेटरी एडजस्टमेन्टमा पाकेर नउठेको ब्याज, गैरबैंकिङ सम्पत्तिका आधारमा गर्नुपर्ने प्रोभिजनिङ, लगानीमा हुने सम्भावित घाटाको आधारमा राख्नुपर्ने प्राभिजनिङ आदि पर्छन् । लाभांश क्षमता घटे पनि गत आव एभरेष्ट बैंकको लाभांश क्षमता सबैभन्दा बढी २९ दशमलव ८६ प्रतिशत छ । आव २०७९/८० मा उक्त बैंकको लाभांश वितरण क्षमता ३८ दशमलव ४२ प्रतिशत थियो ।
लाभांश क्षमता धेरै हुने दोस्रोमा स्ट्याण्डर्ड चार्टर्ड बैंक परेको छ । यस बैंकको लाभांश क्षमता २६ दशमलव ५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको तुलनामा यस बैंकको पनि लाभांश क्षमता केही घटेको छ । अघिल्लो वर्ष स्ट्याण्डर्ड चार्टर्डको लाभांश क्षमता २८ दशमलव ७५ प्रतिशत थियो ।
लाभांश क्षमताको हिसाबले तेस्रोमा कृषि विकास बैंक छ । यसको लाभांश क्षमता १७ दशमलव ३७ प्रतिशत रहेको छ । यो अघिल्लो वर्षको तुलनामा बढी हो । अघिल्लो वर्ष यस बैंकको लाभांश क्षमता ९ दशमलव २४ प्रतिशत थियो ।
२० ओटा वाणिज्य बैंकमध्ये सबैभन्दा कम लाभांश क्षमता एनएमबि बैंकको छ । यस बैंकको लाभांश क्षमता १ दशलमव ३ प्रतिशत रहेको ताजा वित्तीय विवरणले देखाउँछ । अघिल्लो वर्ष यस बैंकको लाभांश क्षमता ६ दशमलव २१ प्रतिशत थियो । आव २०८०/८१ मा ८ ओठा वाणिज्य बैंकले शेयरधनीलाई लाभांश दिएका थिएनन् ।
घट्दो लाभांश क्षमता र लाभांशदरले गर्दा वाणिज्य बैंकको शेयरमा आकर्षण घट्न सक्ने लगानीकर्ता बताउँछन् । नेपाल राष्ट्र बैंकले बैंक, वित्तीय संस्थालाई असारसम्मको वित्तीय विवरणमा साउन अन्तिमसम्म उठ्ने ब्याजसमेत जोड्न सक्ने सुविधा दिएको छ ।
साउन मसान्तसम्म थप ब्याज उठेमा बैंक तथा वित्तीय संस्थाहरूले परिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दा यो ब्याज पनि समावेश गर्न पाउने छन् । सोही कारण अहिले प्रकाशित भएको नाफा रकम र लाभांश क्षमतामा धेरथोर परिवर्तन हुनसक्ने सम्भावना छ ।