काठमाडौं। बैंक तथा वित्तीय संस्थालाई ‘एपीआई म्यानेजमेन्ट सिस्टम–एपीआईएमएस’ उपलब्ध गराइरहेको वानप्वाइन्ट फाइनान्सियल सर्भिसेस र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)बीच क्रस बोर्डर (अन्तरदेशीय) डिजिटल भुक्तानी सम्बन्धी सम्झौता भएको छ ।
सम्झौतापत्रमा वानप्वाइन्टका प्रमुख कार्यकारी अधिकृत श्रीप्रताप श्रेष्ठ र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । समझदारी अनुसार एनसीएचएलमार्फत हुने क्रस बोर्डर भुक्तानी प्रणाली सञ्चालन गर्न वानप्वाइन्ट ‘कार्यान्वयन साझेदार’ हुनेछ ।
यसका लागि वानप्वाइन्टले भारतको नेसनल पेमेन्ट कर्पोरेसनको स्ट्याण्डर्डअनुसार विकास गरेको भर्चुअल पेमेन्ट एड्रेस–भीपीए मोड्युल नेपालका बैंक तथा वित्तीय संस्थाहरूलाई प्रदान गर्ने बताइएको छ । यसबाट एनसीएचएलमार्फत हुने भारतसँगको क्रस बोर्डर भुक्तानी प्रणाली कार्यान्वयनमा आउने बताइएको छ ।
हालसम्म १३ ओटा वाणिज्य बैंकसहित १८ ओटा बैंक तथा वित्तीय संस्थालाई वानप्वाइन्टले डिजिटल प्रणाली उपलब्ध गराउँदै आएको बताइएको छ ।