काठमाडौं। माछापुच्छ्रे बैंकले आफ्नो २४औं वार्षिकोेत्सव विविध सामाजिक उत्तरदायित्वका कार्यक्रम गर्दै मनाइरहेको छ । ‘उत्सव र सहयोग’ नाराका साथ बैंकले असोज महीनालाई वार्षिकोत्सव अभियानका रूपमा लिएको हो । उक्त अवसरमा बैंकले असोज १८ गते केन्द्रीय कार्यालय तथा बैंकका सम्पूर्ण शाखा कार्यालयमा केक काटेर वार्षिकोत्सव मनाएको छ । उक्त अवसरमा बैंकले वृद्धाश्रम तथा बालमन्दिरहरूमा सहयोग, वृक्षरोपण, वित्तीय साक्षरता प्रवर्द्धन कार्यक्रमजस्ता सामाजिक उत्तरदायित्वमा केन्द्रित गतिविधिहरू सञ्चालन गरिरहेको बताइएको छ । बैंकले काभ्रेको रोशी गाउँपालिका १ र २ का बाढीपहिरो पीडित घरपरिवारलाई २०० थान ब्ल्यांकेट प्रदान गरेको बताइएको छ ।
यसैगरी बैंकले २४औं वार्षिकोत्सवको अवसर पारेर ग्राहक लक्षित विभिन्न अफर सञ्चालनमा ल्याएको छ । बैंकले असोज १ देखि ३० गते सम्मको अवधिमा बैंकको मोबाइल बैंकिङ एमबिएल एम स्मार्ट, डेबिट कार्ड, क्रेडिट कार्ड, डलर क्रेडिट तथा डलर प्रिपेड कार्ड लिने नयाँ ग्राहकलाई छूटको योजना ल्याएको हो । यसअन्तर्गत बैंकको डेबिट कार्ड लिने ग्राहकले कार्ड लिँदा पहिलो वर्षको जारी शुल्कमा शतप्रतिशत छूट र त्यसपछिको २ वर्षसम्म पनि कार्ड नवीकरण शुल्कमा शतप्रतिशत छूट प्रदान गरिरहेको बताइएको छ ।
बैंकले क्रेडिट कार्ड जारी गर्दा सदस्यता तथा जारी शुल्कमा आकर्षक प्याकेज बनाई ५ वर्षे अवधिका लागि एकमुष्ट २ हजार ४०० रुपैयाँमा प्रदान गरिरहेको बताइएको छ ।
साथै बैंकले मोबाइल बैंकिङ एमबिएल एम स्मार्ट सेवाको सदस्यता शुल्कमा वार्षिक ५० प्रतिशत सम्मको छूट, डलर क्रेडिट कार्ड र डलर प्रिपेड कार्ड जारी गर्दा जारी शुल्कमा पहिलो वर्ष २४ प्रतिशतसम्मको छूट प्रदान गर्नेछ ।