काठमाडौं। नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले एमआरओ (मर्मत सम्भार गर्ने कम्पनी) छान्न पटकपटक टेन्डर आह्वान गर्नुपर्दा सी चेकका लागि वाइडबडी जहाज इटाली पठाउन ढिला भएको स्पष्टीकरण दिएका छन् । दशैं, तिहार जस्ता चाडनजिक निगमको व्यापार बढ्ने बेलामै दुईओटा वाइडबडी जहाज सी चेक (नियमित मर्मतसम्भार) का लागि देश बाहिर छन् । निरन्तर खुद घाटा बेहोरिरहेको र ऋणको भारले थिचिएको निगमले दुईओटै जहाज बाहिर सी चेकका लागि पठाउँदा यसको विश्वसनीयतामा असर परेको भन्दै पर्यटन मन्त्रालयले कार्यकारी अध्यक्षसँग भदौ दोस्रो साता स्पष्टीकरण मागेको थियो ।
भदौ १९ गते दिएको जवाफमा अधिकारीले निगमले सी चेकको तालिकाभन्दा ८ महीनाअघि नै विनियमावली बमोजिम उपसमिति गठन गरी टेन्डर डकुमेन्ट तयार गरी अन्तरराष्ट्रिय खुला प्रतिस्पर्धाबाट एमआरओ छान्न टेन्डर आह्वान गरेको तर प्राप्त टेन्डरहरू सारभूत रूपमा प्रभावग्राही नभएकोले तीनपल्ट टेन्डर आह्वान गर्नुपरेको उल्लेख गरेका छन् ।
असार दोस्रो साता इटाली पुगेको ए ३३० नाइन एन–एएलवाई केही दिनभित्र नेपाल फर्कने र भदौ दोस्रो साता इटाली पुगेको अर्को ए ३३० नाइन एन–एएलजेड दशैंअगावै मर्मतसम्भार गरी उडान गर्ने तयारी भएको उनले बताएका छन् । उनको स्पष्टीकरणमा साढे दुई महीनाअघि नै सी चेकका लागि इटाली पठाइए पनि उक्त कार्य समयमा सम्पन्न नहुनुमा निगमको काबुबाहिरको स्थिति जिम्मेवार रहेको अधिकारीको स्पष्टीकरणमा उल्लेख छ । सम्झौताअनुसार एमआरओ कम्पनीले एक महीनाभित्र मर्मतसम्भार सक्नुपर्ने थियो । सी चेकको लागि पठाइएको पहिलो जहाजको मर्मतसम्भारमा नियमित र तालिकामा नभएको मर्मतसम्भार दुवै गर्नुपर्ने भएकोले आवश्यकताभन्दा धेरै समय लागेको र मर्मतसम्भार सम्पन्न नगरी फर्काउन नमिल्ने भएकोले ढिलो भएको उनले बताएका छन् ।
आफूलाई बचाउ गर्दै उनले काबुबाहिरको परिस्थितिले सी चेक मर्मत ढिला भएकोमा कुनै व्यक्ति वा पदाधिकारीको कारणले अपूरणीय क्षति भएको एकीन गर्न नसकिने स्थिति रहेको बताएका छन् ।