सुर्खेत। वेतन कर्णाली जलविद्युत् आयोजनाको निर्माण अघि बढाउन माग गरिएको छ । कर्मचारी सञ्चय कोषको स्थापना दिवसको अवसरमा सुर्खेतमा आयोजित कार्यक्रमका सहभागीहरूले आयोजनाको कामलाई गति दिन माग गरेका हुन् । सुर्खेत र अछामबीच रहेको कर्णाली नदीमा बन्ने ४३९ मेगावाटको उक्त जलविद्युत् आयोजना निर्माणमा ढिलासुस्ती गर्न नहुनेमा सहभागीको जोड थियो ।
कार्यक्रममा कर्णाली प्रदेश, योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगीले वेतन कर्णाली आयोजनाको निर्माण कुनै पनि बहानामा रोक्न नहुने र समस्या भएमा सरोकारवालासँगको छलफलबाट समाधान गर्नुपर्ने बताए । कर्णाली प्रदेशको ऊर्जा समृद्धिसँग जोडिएको वेतन कर्णाली जस्ता जलविद्युत् आयोजना निर्माण गर्न सकिने सम्भावना रहेकाले त्यसतर्फ समेत सोच्न कर्मचारी सञ्चय कोषलाई उनले आग्रह गरे ।
वेतन कर्णाली अर्ध जलाशययुक्त जलविद्युत् आयोजना हो । आयोजना निर्माणमा विनाकारण ढिलासुस्ती भइरहेको भन्दै कर्णाली प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयका निमित्त सचिव गणेशबहादुर डाँगीले यसमा आम सरोकारवालाले समेत खबरदारी गर्नुपर्ने औंल्याए । ‘कर्णालीको आर्थिक समृद्धिसँग जोडिएका आयोजना निर्माणमा विभिन्न बहाना बनाएर अधुरो छोड्ने प्रवृत्तिको अन्त्य गर्नेतर्फ सबै पक्ष जुट्नुपर्छ,’ उनले भने । कर्मचारी सञ्चय कोष, सुर्खेत शाखा प्रमुख ध्रुवप्रसाद तिवारीले सुर्खेतमा मात्रै आफ्ना सञ्चयकर्तामार्फत विभिन्न शीर्षकबाट पछिल्ला दुई आर्थिक वर्षमा पौने ३ अर्ब रुपैयाँ लगानी भएको बताए । संस्थागत सुशासनमा ध्यान दिँदै कार्यप्रणालीलाई थप प्रविधिमैत्री बनाएर सञ्चयकर्ता स्वास्थ्योपचार योजना, सुत्केरी तथा शिशु स्याहार योजना, दुर्घटना क्षतिपूर्ति योजना तथा काजकिरिया अनुदान योजना समेतका सामाजिक सुरक्षा सुविधा कोषले उपलब्ध गराउँदै आएको जानकारी उनले दिए ।