काठमाडौं। महालक्ष्मी विकास बैंकले प्रकाशित गरेको आर्थिक वर्ष (आव) २०८१/८२ को दोस्रो त्रैमासको अन्त्यसम्मको वित्तीय विवरण अनुसार आधारदर ७ दशमलव ४८ र कोषको लागत प्रतिशत ५ दशमलव २९ प्रतिशत रहेको बताइएको छ । यो अन्य बैंक तथा वित्तीय संस्थाको भन्दा पनि कम रहेको बैंकको दाबी छ ।
बैंकको आधारदर कम हुँदा ऋणीले लिने ऋणको ब्याजदरसमेत कम हुने हुँदा सोको लाभ ऋणीले लिन सक्ने बैंकको अपेक्षा छ । त्यसै गरी नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम पूँजी कोषको तुलनामा महालक्ष्मी विकास बैंकको न्यूनतम पूँजी कोष आव २०८१/८२ को पुस मसान्तसम्म १४ दशमलव ९९ प्रतिशत रहेको बताइएको छ । यसरी बैंक पूँजीको हिसाबले सबल रहेको र आगामी दिनमा व्यवसाय विस्तार गर्न समेत पूँजीको अभाव नरहने बैंकको भनाइ छ । आव २०८०/८१ मा बैंकको खुद नाफा रू. ५० करोड ३ लाख, प्रतिशेयर आम्दानी रू. १२, र शेयरधनी कोषमा प्रतिफल ७ दशमलव ४२ प्रतिशत रहेको बताइएको छ ।