चितवन । जिल्लाको कालिका नगरपालिका–२ मा काठमाडौंका कमलप्रसाद सुवेदीले चार बिगाहा क्षेत्रफलमा च्याउखेती गरेका छन् । डेढ वर्ष अघिदेखि पाते च्याउ र डल्ले च्याउ उत्पादन गर्दै आएका हुन् । उनको फार्ममा पाते च्याउका १०५ ओटा र डल्ले च्याउका १२ ओटा वातानुकूलित प्लाष्टिक टनेल छन् । पाते च्याउ उत्पादन भएर बजारमा जान थालिसकेको छ भने डल्ले च्याउको उत्पादन केही समयपछि बजार पठाउने सुवेदीले बताए । रेन्स्की एग्रो फार्म प्रालि नामको कम्पनीबाट सञ्चालित यो फार्ममा हालसम्म जग्गामा बाहेक ७ करोड रुपैयाँ लगानी भइसकेको उनको भनाइ छ ।
उनले २२ वर्ष विदेशमा काम गरेको अनुभवका आधारमा व्यवसाय शुरू गरेका हुन् । ‘२२ वर्षमा युरोप, मध्यपूर्वका देशमा गरेको च्याउखेती सम्बन्धी कामबाट म अहिले यहाँ च्याउखेती गर्न सफल भएको हुँ,’ सुवेदीले भने, ‘कोरोना महामारीपछि देश फर्केर मैले च्याउखेती शुरू गरेको हुँ ।’
काठमाडौंमा धेरै जग्गा एकै ठाउँमा नपाइने भएकाले आफूले चितवनमा च्याउखेती शुरू गरेको उनको भनाइ छ । चार बिगाहा जग्गामध्ये साढे तीन बिगाहा उनले भाडामा लिएका हुन् भने १० कठ्ठा जमीन च्याउखेतीकै कमाइबाट किनेका हुन् ।
हाल गर्मीयाममा दैनिक पाँच क्वीन्टल उत्पादन हुने र जाडो याममा दैनिक १५ क्वीन्टलसम्म उत्पादन हुने गरेको उनले बताए । ‘गर्मी याममा उत्पादन कम हुन्छ, मूल्य पनि महँगो हुन्छ,’ उनले भने, ‘जाडो याममा उत्पादन बढी र मूल्य कम हुन्छ ।’ हाल उनको उत्पादन धेरैजसो चितवनकै बजार र केही उत्पादन काठमाडौंसम्म जाने गरेको छ । च्याउको माग उच्च रहेकोले आफूले माग धान्न नसकेको उनको भनाइ छ । च्याउको बीउ उत्पादन, टिस्यु कल्चरिङ, प्रोसेसिङ लगायतका काम उनकै फार्ममा हुने गरेको छ । उनको फार्ममा अहिले १५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् भने ५० जनाले अप्रत्यक्ष रोजगारी पाएका छन् । विदेशमा यस्ता शीप सिक्न जानु उपलब्धिमूलक भएको भन्दै विदेश जानु नराम्रो नभई विदेशमा पलायन हुनु नराम्रो भएको उनको बुझाइ छ । ‘विदेश जानु नराम्रो होइन, जुनसुकै फिल्डमा शीप सिकेर त्यो शीप स्वदेशमै लगानी चाहिँ गर्नुपर्छ,’ सुवेदीले भने । आगामी दिनमा मागअनुसार उत्पादन विस्तार गर्दै लैजाने योजना रहेको उनले बताए ।