- नेपालीका आईटी कम्पनीले निर्यातका आधारमा विदेशमै लगानी गर्न पाउने व्यवस्थाले नेपाली कम्पनीको अन्तरराष्ट्रियकरणमा ठूलो सहयोग पुर्याउँछ ।
- विदेशमा लगानी गर्न दिने व्यवस्थाले पूँजी पलायन निम्त्याउला कि भन्ने चिन्ता पनि छ ।
विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन २०२१ ले दशकौंदेखि नेपालीलाई विदेशमा लगानी गर्न रोकिरहेको सन्दर्भमा त्यसमा संशोधन गरी तोकिएको क्षेत्रमा लगानी गर्न खुला गरेसँगै नेपाल राष्ट्र बैंकले थप बाटो खुला गरेको छ । उसले विदेशमा लगानी गर्न चाहने सूचनाप्रविधि (आईटी) उद्योगले अधिकतम १० लाख अमेरिकी डलर बराबरको विदेशी मुद्रा बाहिर लैजान सक्ने नीतिगत व्यवस्था गरिदिएको छ । यसले अब नेपाली आईटी कम्पनीलाई विदेशमा लगानी गर्न सम्भव बनाएको छ जसबाट यस क्षेत्रमा लाग्नेहरू निकै उत्साहित देखिएका छन् ।
नेपाल राष्ट्र बैंकले बुधवार विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन नियमावली, २०७८ मा चौथो संशोधन गर्दै आईटी कम्पनीहरूलाई विदेशमा लगानी गर्ने सीमा तोकेको हो । पछिल्लो ३ आर्थिक वर्षमा सूचनाप्रविधिसम्बन्धी सेवा निर्यात गरी आर्जन गरेको औसत विदेशी मुद्राको ५० प्रतिशत वा अमेरिकी डलर १० लाख वा त्यस बराबरको विदेशी मुद्रासम्म विदेशमा लगानी गर्न दिने व्यवस्था गरेको छ । यसअघि सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५, कम्पनी ऐन २०६३ र विदेशी विनिमय ऐन २०१९ लाई अध्यादेशमार्फत संशोधन गरेको थियो । सोही संशोधित व्यवस्था कार्यान्वयनका लागि केन्द्रीय बैंकले विनियमावली संशोधन गरेको हो । विनियमावलीमा परिच्छेद ५ ‘क’ थप गर्दै विदेशमा लगानीको नियमनसम्बन्धी व्यवस्था गरेको छ । यसरी विदेशमा लगानीका लागि बाटो खुलाउन प्रविधि क्षेत्रको विकासका लागि निकै महत्त्वपूर्ण कदम मानिन्छ ।
सरकारले खर्बौंको आईटी निर्यातको लक्ष्य लिएको छ । त्यसका लागि जनशक्ति उत्पादनदेखि विदेशका आईटी कम्पनीसँगको सहकार्य र लगानी आवश्यक पर्छ । अहिले नेपालीले विदेशमा आईटी कम्पनी खोलेर नेपालमा त्यसको शाखा खोलेका छन् । तिनले विदेशबाट पैसा ल्याउँदा झन्झट भोग्नु परिरहेको बताएका छन् । यस्ता कम्पनीले नेपालबाट अर्बौंका आईटी निर्यात पनि गरेका छन् । यस्तोमा नेपालमा दर्ता भई सञ्चालनमा आएका नेपालीका आईटी कम्पनीले निर्यातका आधारमा विदेशमै लगानी गर्न पाउने व्यवस्थाले नेपाली कम्पनीको अन्तरराष्ट्रियकरणमा ठूलो सहयोग पुर्याउँछ । विदेशमा लगानी गर्न नपाइने ऐनले नेपाली कम्पनीलाई बहुराष्ट्रिय कम्पनीका रूपमा विकास गर्न गाह्रो थियो । अहिले नयाँ व्यवस्थाले नेपाली विज्ञहरू विदेशमा गएर काम गर्न बाटो खुल्छ । उदाहरणका लागि अमेरिकामा दर्ता भएको फ्युज मेशिनले नेपाललगायत विभिन्न देशमा शाखा खोलेको छ । यो नेपालीले विदेशमा दर्ता गरेको कम्पनी हो जसले सयौं दक्ष जनशक्तिलाई रोजगारी दिइरहेको छ । नेपालमै दर्ता भएर विदेशमा कम्पनी खोल्न पाए त्यहाँका कम्पनीसँग मिलेर ठूलो परियोजनामा काम गर्न सक्छन् । त्यसका लागि नेपाली कम्पनीले विदेशमा लगानी गर्न पाउनुपर्छ । अब त्यो बाटो खुलेको छ । अब नेपालमा मुख्य कार्यालय रहेका आईटी कम्पनीका शाखा विभिन्न देशमा देख्न पाइन सक्छ । यसले आईटी क्षेत्रमा ठूलो परिवर्तन ल्याउँछ । नेपाली विज्ञहरूलाई विदेशीसँग प्रतिस्पर्धामा काम गर्न सक्ने तुल्याउँछ । अर्को, विदेशमा नेपाली कम्पनी हुँदा तिनले बढी विश्वास गर्न पनि सक्छन् । यसरी नेपालीले विदेशमा लगानी गर्दा त्यताको लगानी पनि आकर्षित गर्न मद्दत मिल्छ ।
आईटी क्षेत्रमा बल्ल सरकार सकारात्मक बनेको छ । यस्तै सम्भावनाको अर्को क्षेत्र निर्माण व्यवसाय पनि हो । यसमा पनि विदेशमा लगानी खुला गर्ने हो भने तिनले नयाँनयाँ प्रविधि सिक्न पाउँछन् । यसबाट प्रविधि हस्तान्तरण पनि हुन्छ । नेपाली व्यवसायीको आत्मविश्वास पनि बढ्छ । नेपालभित्रै ठूलो परियोजनामा नेपालीको ठेक्का पाउन थाल्छन् । यसरी निर्माण व्यवसाय अहिलेको अवस्थाभन्दा निकै सबल हुन सक्छ ।
तर, विदेशमा लगानी खुला गर्दा यसको छिद्र प्रयोग गरेर स्वदेशी पूँजी बाहिरिने अवस्था आउन दिनु हुँदैन । लगानीको रूपमा गएको पैसाले लाभांश ल्याउन मद्दत गर्छ र उक्त लाभांश नेपालमा पुनः लगानी हुने सम्भावना हुन्छ । देशमा लगानीको वातावरण नभएको गुनासोबीच विदेशमा लगानी गर्न दिने व्यवस्थाले पूँजी पलायन निम्त्याउला कि भन्ने चिन्ता पनि छ । त्यसैले यसरी विदेशमा लगानी खुला गर्दा स्वेदशमा पनि लगानीको वातावरण बनाउन सरकारले ठोस पहल गर्नुपर्छ ।