नेपालमा १४ जीवन बीमा, १४ निर्जीवन, २ पुनर्बीमा, ४ लघु जीवन र ३ ओटा लघु निर्जीवन गरी ३७ ओटा बीमा कम्पनी सञ्चालनमा रहे पनि तिनको बीमांकीय मूल्यांकनका लागि आवश्यक जनशक्ति उपलब्ध हुन सकेको छैन । बीमा प्रणालीमा महत्त्वपूर्ण मानिने एक्चुरियल मूल्यांकनका लागि नेपाल पूर्णतया विदेशी विज्ञहरूमाथि आश्रित छ भन्न सकिन्छ । यसले गर्दा कम्पनीहरूको वार्षिक साधारणसभा समयमा हुन सकेको छैन भने ठूलो परिमाणमा यसका लागि पैसा विदेशिइरहेको छ । नेपालमा उत्पादित जनशक्तिलाई नेपालमै टिकाउन विशेष ध्यान दिन आवश्यक देखिन्छ ।
- नेपालमा एक्च्युअरीको लाइसेन्स दिने निकाय छैन । त्यसैले नेपाली विद्यार्थीले भारत, बेलायत र अमेरिकाबाट यस्तो लाइसेन्स लिनुपर्ने बाध्यता छ ।
- जनशक्ति अभावमा नियामक निकाय प्राधिकरणले समेत विदेशीबाट बीमांकीय मूल्यांकन परामर्श सेवा लिने अवस्था आउनु विडम्बना नै हो ।
एक्च्युअरी भनेको जोखिम पहिचान तथा सम्पत्ति र दायित्वको मूल्यांकन हो । बीमा व्यवसायमा आर्थिक, वित्तीय, गणित, तथ्याकंशास्त्र र लेखाका सिद्धान्तहरू प्रयोग गरेर यसको जोखिम मूल्यांकन हुन्छ । यसका लागि कम्पनीको अनुपातमा थोरै नै जनशक्ति चाहिने हुन्छ तर विडम्बना एक जनामात्रै जनशक्ति नेपालमा रहेको छ । त्यसले गर्दा यसका लागि विदेशी विज्ञमा निर्भर हुनु परेको छ । अनुमान अनुसार वार्षिक करीब ५ करोड रुपैयाँभन्दा बढी बराबरको विदेशी मुद्रा विदेशी एक्च्युअरीहरूलाई तिर्नुपरेको छ । नेपालमा जनशक्ति उत्पादन नै नभएको होइन, त्रिभुवन विश्वविद्यालयबाट हरेक वर्षमा २० देखि ३० जना विद्यार्थीले स्नातक गरिरहेका हुन्छन् । तर, तिनलाई नेपालमा टिकाउन सकिएको छैन । ज्यादै आकर्षक कमाइ हुने पेसा भएकाले तिनलाई नेपालमा टिकाउन नसकिएको हो । अर्को, उत्तीर्ण गरेको जनशक्तिसँग अनुभव हुँदैन, तिनलाई मेन्टरसिप आवश्यक पर्छ । केही अनुभवी विज्ञलाई मेन्टरसिपमा लगाउने हो भने नेपालको जनशक्ति नै पनि पर्याप्त हुन सक्छ ।
बीमा कम्पनीका जोखिम, दायित्व, भविष्यगत दाबी, प्रिमियम निर्धारण जस्ता वित्तीय गणनाहरू जिम्मेवारीपूर्वक गर्न सक्ने विशिष्ट विज्ञ बन्नका लागि विश्लेषणात्मक र गहन गणितीय अध्ययन आवश्यक पर्छ । यसमा दक्षता प्राप्त गर्न वर्षौंको मेहनत, विशेष अध्ययन र प्रमाणित परीक्षा उत्तीर्ण गर्नुपर्छ । नेपालमा यस्तो अवस्था नहु“दा पनि नयाँ जनशक्ति विदेशिएको देखिन्छ । बीमा ऐन २०७९ र नियमावली २०८१ अनुसार बीमा कम्पनीहरूलाई हरेक आर्थिक वर्षपश्चात् अनिवार्य रूपमा एक्च्युअरियल मूल्यांकन प्रतिवेदन पेश गर्नुपर्छ । यसले बीमा व्यवसायमा पारदर्शिता र वित्तीय उत्तरदायित्वको अभ्यासलाई सुदृढ पार्छ । त्यसैले बीमा प्राधिकरणले त्रिभुवन विश्वविद्यालयसँग सहकार्य गरेर गणित र तथ्यांक संकायका विद्यार्थीहरूलाई प्रोत्साहन दिने, छात्रवृत्तिको व्यवस्था गर्ने र बिस्तारै स्वदेशमै दक्ष जनशक्ति उत्पादन गर्ने प्रयास थालेको छ । यसरी उत्पादित जनशक्तिलाई दक्ष बनाउन र टिकाउन सीमित अवधिका लागि विशेष व्यवस्था गर्नुपर्छ जसको जिम्मेवारी बीमा प्राधिकरणको हो । यसका लागि विदेशी पाठ्यक्रमका समानस्तरीय प्रमाणपत्र, इन्टर्नशिप र प्रतिस्पर्धात्मक तलबसहितको कामको सुनिश्चितता गर्न सकिन्छ ।
आजको डिजिटल युगमा हामी अर्थशास्त्र, बीमा, तथ्यांक, तथा वित्तीय प्रविधिलाई एकीकृत गर्न आवश्यक हुन्छ । एक्च्युअरी बीमा प्रणालीको मेरूदण्ड हो । यो मेरूदण्ड बलियो छैन भने, बीमा प्रणाली सुदृढ र विश्वसनीय बन्न सक्दैन । जनशक्ति अभावमा नियामक निकाय प्राधिकरणले समेत विदेशीबाट बीमांकीय मूल्यांकन परामर्श सेवा लिने अवस्था आउनु विडम्बना नै हो । नेपालमा रोजगारीको अभाव छ, उच्च आमदानी पाइँदैन भनेर युवा जनशक्ति एकातिर विदेशिइरहेको छ भने अर्कातिर यही कामका लागि विदेशी जनशक्तिमा निर्भर हुनु परेको छ । त्यसैले नेपालमा एक्च्युअरी अध्ययन गरेका विद्यार्थीले भोगेका समस्या समाधानमा गम्भीर हुनुर्छ । नेपालमा एक्च्युअरीको लाइसेन्स दिने निकाय छैन । त्यसैले नेपाली विद्यार्थीले भारत, बेलायत र अमेरिकाबाट यस्तो लाइसेन्स लिनुपर्ने बाध्यता छ । भारत, अमेरिकालगायत देशका बीमा कम्पनीहरूले एक्च्युअरी भ्यालुएटर पढ्ने विद्यार्थीलाई इन्टर्नसिप अवसर दिएर लगानी गर्ने भएकाले पनि विदेशमा आकर्षण बढेको बताइएको छ । अहिले जुन विदेशी विज्ञलाई एक्च्युअरीको काम दिइएको छ तिनलाई नेपाली विद्यार्थीलाई काम सिकाउनुपर्ने व्यवस्था गर्न सकिन्छ । त्यसो गर्दा तिनले कमाउने र सिक्ने दुवै अवसर प्राप्त गर्छन् ।