भाटभटेनी समूहका संस्थापक मीनबहादुर गुरुङ र लिटिल एञ्जेल्स समूहका उमेश श्रेष्ठसहितको लगानीमा रूपन्देहीको भैरहवा विशेष आर्थिक क्षेत्र (सेज)मा १ अर्ब ५० करोड रुपैयाँ लगानीमा गार्मेन्ट उद्योग खोल्न लागिएको छ । स्वदेशमा खपतसँगै विदेशमा निर्यात गर्ने उद्देश्य राखिएको लगानीकर्ताको भनाइ छ । नेपालको अर्थतन्त्रमा सेवाक्षेत्रको हिस्सा ठूलो रहेको र व्यावसायिक घरानाहरूले उत्पादनमा त्यति ध्यान नदिएको आरोप लागिरहँदा पछिल्लो समय उत्पादनमूलक क्षेत्रमा पनि लगानी हुन थाल्नु सकारात्मक छ । यस्ता उत्पादनमूलक उद्योगमा हुने लगानीलाई सरकारले सहजीकरण गर्न आवश्यक हुन्छ ।
- नेपालमा तयारी पोशाकमा सानातिना लगानी बढिरहेको छ र आन्तरिक बजारमा त्यसले राम्रै व्यवसाय गरिरहेको छ ।
- उत्पादनमूलक उद्योग खोल्नु भनेको एकातिर रोजगारी बढाउनु हो भने अर्कातिर आयात कम गराउनु हो ।
- धेरै मानिसलाई रोजगारी प्रदान गर्ने क्षेत्र म्यानुफ्याक्चरिङमा लागनी बढ्नु सकारात्मक पक्ष हो ।
नेपालको गार्मेन्टका केही उत्पादनलाई अमेरिकामा शून्य भन्सार दरको सुविधा उपलब्ध हुँदा पनि विगतका वर्षमा यस क्षेत्रमा ठूला लगानीकर्ता प्रवेश गरेनन् । अहिले नेपालले पाएको यो सुविधा हट्न लागेको अवस्थामा भाटभटेनी समूह ठूलो लगानीका साथ यो क्षेत्रमा प्रवेश गर्ने भएको हो । नेपालमा तयारी पोशाकमा सानातिना लगानी बढिरहेको छ र आन्तरिक बजारमा त्यसले राम्रै व्यवसाय गरिरहेको छ । कतिपय ब्राण्ड त स्थापित भइसकेका छन् र कतिपयचाहिँ हुने क्रममा छन् । यस्तोमा भाटभटेनी समूहको यसमा प्रवेशले ठूलो परिमाणमा उत्पादन हुने र त्यसले अन्यलाई पनि यसतर्फ आकर्षित गर्न सक्ने देखिन्छ । साथै यस्तो ठूला उद्योगको अग्र र पश्च प्रभाव पनि हुन्छन् । त्यसैले भाटभटेनीको यो लगानी गार्मेन्ट उद्योगको पुनर्जीवनको कारण नबन्ला भन्न सकिँदैन । भाटभटेनीका संस्थापक मीनबहादुर गुरुङको शब्दमा बंगलादेशले गार्मेन्ट निर्यातमा समस्या भोगिरहेका बेला त्यहाँको अवसर नेपालमा आउने सम्भावना छ ।
भाटभटेनी सुपरस्टोरका २७ ओटा आउटलेट देशका प्रमुख शहरहरूमा सञ्चालित भएकाले उसलाई बजारको समस्या त्यति नपर्न सक्छ । मध्यमवर्गीय उपभोक्ताको रोजाइमा भाटभटेनी सुपरस्टोर परिरहेको सन्दर्भमा गार्मेन्ट उद्योग एउटा महत्त्वपूर्ण क्षेत्र बन्न सक्ने देखिन्छ । यसले गर्दा इकोनोमिज अफ स्केल प्राप्त गरी जम्मा लागत न्यून गर्न र अन्तरराष्ट्रिय बजारमा आफ्नो उत्पादन प्रतिस्पर्धी बनाउन भाटभटेनीलाई सहज हुनसक्नेछ ।
त्यसो त भाटभटेनीमात्रै होइन, चन्द्र ढकालको आइएमई समूहले हालै कागज कारखाना स्थापना गरेको छ । धेरै व्यापारिक घरानाले सिमेन्ट उद्योगमा लगानी गरेका छन् । अधिकांश व्यवसायी व्यापार र सेवाक्षेत्रमा लगानी गरिरहेको बेला म्यानुफ्याक्चरिङमा आकर्षित हुनु राम्रो हो । धेरै नेपाली वैदेशिक रोजगारीमा गइरहनुपर्नाको कारण देशभित्र रोजगारीको अवसर कम हुनु हो । यस्तोमा धेरै मानिसलाई रोजगारी प्रदान गर्ने क्षेत्र म्यानुफ्याक्चरिङमा लागनी बढ्नु सकारात्मक पक्ष हो ।
विगत २ दशकभन्दा अघिदेखि अर्थतन्त्रमा यो क्षेत्रको योगदान घट्दै गएको छ किनभने यो क्षेत्रमा जोखिम धेरै हुने र व्यवसाय फस्टाउन समय लाग्ने हुनाले व्यवसायीहरू मूलतः व्यापारतिर लागेर शीघ्र कमाउने दिशामा गए । हाल यो क्षेत्रको अर्थतन्त्रमा योगदान ५ प्रतिशतको हाराहारीमा मात्र छ । त्यसैगरी पछिल्लो समय कृषिक्षेत्रमा पनि व्यवसायीको लगानी बढेको छ । उमेश श्रेष्ठदेखि बुद्ध एयरका वीरेन्द्रबहादुर बस्नेतसम्मले कृषिमा लगानी गर्न थालेका छन् । यस्ता उत्पादनका लागि भाटभटेनी सुपर स्टोर बजारीकरणका लागि सजिलो माध्यम बनेको छ । सानातिना लगानीमा स्वदेशी ब्रान्ड स्थापनाको काम पनि भइरहेको पाइन्छ ।
जेहोस्, उत्पादनमूलक क्षेत्रमा लगानी ठप्प नै भएको देखिँदैन । व्यावसायिक समूहहरूले अवसर खोजिरहेको देखिन्छ । यस्तोमा सरकारले व्यवसायीलाई सकेसम्म सहुलियत दिएर उद्योग खोल्न प्रोत्साहित गर्नुपर्छ । उत्पादनमूलक उद्योग खोल्नु भनेको एकातिर रोजगारी बढाउनु हो भने अर्कातिर आयात कम गराउनु हो । यसबाट अर्थतन्त्र विभिन्न किसिमबाट लाभान्वित हुन्छ । त्यसैले सरकारले अहिले व्यावसायिक समूहमा केही मात्रामा देखिएका उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने प्रवृत्तिलाई बढाउन थप सुविधा र प्रोत्साहन दिने नीति लिनुपर्छ । त्यसो भयो भने बिस्तारै केही क्षेत्रमा उत्पादनमूलक उद्योग खुल्न थाल्ने र त्यसलाई सहायक उद्योगहरू खुल्न मद्दत पुग्ने देखिन्छ ।