नेपालमा वैदेशिक लगानी बढाउने उद्देश्यका साथ ‘नेपाल इम्प्याक्ट इन्भेस्टमेन्ट फोरम २०२५’ शुरू भएको छ । नेपाल बैंकर्स संघ र नेपाल प्राइभेट इक्विटी एशोसिएशनको सहकार्यमा इन्भेस्ट फर इम्प्याक्ट नेपालले फोरमको तेस्रो संस्करण विदेशी लगानी आकर्षित गर्न सहयोगी हुने देखिन्छ । नेपाल अन्य देशजस्तै आफ्ना विकास आवश्यकता पूरा गर्न विदेशी लगानी आकर्षित गर्ने विभिन्न रणनीति, ऐनकानूनमा सुधार, प्रशासनिक सुधारजस्ता काममा सक्रिय भइआएको छ । यद्यपि अपेक्षा र प्रतिबद्धताको दाँजोमा लगानी भने निकै कम आइरहेको छ । यसो हुनुको धरातलीय यथार्थको सही विश्लेषण र सुधारमा अझ तीव्रता ल्याउन आवश्यक देखिन्छ ।
- नेपालको राजस्व र खर्चबीचको असन्तुलन बढिरहेको सन्दर्भमा विकास आयोजनाका लागि वित्तीय स्रोतको जोहो गर्न विभिन्न विकल्प र उपकरणको खोजीमा सरकार लागिपरेको छ ।
नेपालको राजस्व र खर्चबीचको असन्तुलन बढिरहेको सन्दर्भमा विकास आयोजनाका लागि वित्तीय स्रोतको जोहो गर्न विभिन्न विकल्प र उपकरणको खोजीमा सरकार लागिपरेको छ । त्यसमा पनि अहिले संरक्षणवादतर्फ उन्मुख विश्व नीतिका कारण विदेशी अनुदान र सहयोग घट्ने देखिएको छ । यस्तोमा विकास आयोजनाहरूको परिचालन तथा पूर्वाधार विकासका ठूलो वित्तीय स्रोत आवश्यक पर्छ । नेपालको विकासको लक्ष्य पूरा गर्न ठूलो लगानी आवश्यक देखिन्छ, जुन लगानी आन्तरिक स्रोतबाट पूरा गर्न सकिँदैन । त्यसैले लगानी बोर्डदेखि विभिन्न निकायले लगानी आकर्षित गर्न विभिन्न कार्यक्रम गरिरहेका छन् । मंगलवारबाट शुरू भएको फोरम पनि यस्तै कामको निरन्तरता हो जसमा १४ विकास वित्तीय संस्थाहरू र प्रभावशाली लगानीकर्ता रहेका छन् । अघिल्लो फोरममा पनि यतिकै संख्यामा सहभागिता रहेको थियो । यो फोरमले विश्वका विकास वित्तीय संस्थाहरू र प्रभावशाली लगानीकर्ता नेपाल भित्र्याउन मद्दत गर्ने अपेक्षा गरिएको छ । फोरममा लगानीकर्ताले सरकार तथा नियामक निकायसँग छलफल गर्न तय भएको छ । सम्भावित लगानी क्षेत्रको समेत पहिचान तथा सम्बन्ध स्थापना गर्न समेत यो फोरम सहयोगी हुने देखिन्छ । साथै, लगानीकर्तालाई नेपालमा वैदेशिक लगानी अवस्था तथा सम्भावनाको आफैले मूल्यांकनसमेत गर्न पाउनेछन् । यो फोरममा वैकल्पिक लगानी उद्योगहरू पनि सहभागी हुने भएकाले सरकारको लगानी जुटाउने अभियानमा सहयोगी हुने देखिन्छ ।
यो फोरमले सीधै लगानी ल्याउने वा सहमति गर्ने होइन । यो त उद्यमी र लगानीकर्ताबीच सम्पर्क स्थापना गराइदिने माध्यम हो । साथै, यसले स्थायी सहकार्य निर्माणका लागि रणनीतिक अवसर प्रदान गर्नसमेत सहयोग गर्न सक्छ । राष्ट्रिय प्राथमिकताका आधारमा लगानीकर्ताको हितलाई जोड्ने तथा दीर्घकालीन लगानीको बाटो तय गर्न रणनीतिक अवसर उपलब्ध गराउने दाबी आयोजकको छ । विदेशी लगानी प्रवर्द्धनका लागि विभिन्न इकोसिस्टम तयार हुनुपर्छ । फोरमले अन्तरराष्ट्रिय इकोसिस्टम तयार पार्न सहयोग गर्ने देखिन्छ ।
यस्ता कार्यक्रमले नेपाल लगानीका लागि उपयुक्त हुन्छ भन्ने सन्देश जान्छ । तर, लगानीकर्ताले लगानी गर्नका लागि धेरैथोक हेर्छ । सबभन्दा ठूलो कुरा विश्वका हरेक देशले विदेशी लगानी आकर्षित गर्ने कार्यक्रम ल्याएका छन् । त्यसो हुँदा ती सबै देश नेपालका प्रतिस्पर्धी हुन् र प्रतिस्पर्धामा अब्बल हुनुपर्छ भन्ने सोचले नेपालले काम गरेको छैन । यद्यपि लगानी वातावरण बनाउन र विदेशी लगानीकर्ताका चासोलाई सम्बोधन गर्न कानूनी, प्रशासनिक र नीतिगत सुधार नभएका होइनन् । तर, तिनको गति धिमा छ । नेपालले एउटा निर्णय गर्दा अरू देशले त्योभन्दा छिटोछिटो निर्णय गरेर लगानीकर्तालाई आकर्षित गरिसकेका हुन्छन् । नेपाल यसमा पछि पर्नुको कारण राजनीतिक नेतृत्वमा प्रतिबद्धता शब्दमा व्यक्त गर्ने तर व्यवहारमा नउतार्ने प्रवृत्ति एउटा प्रमुख कारण मान्न सकिन्छ । त्यसैअनुसार प्रशासनिक संयन्त्र पनि जुम्सो छ र झन्झटपूर्ण छ । करका किचलाहरू उत्तिकै छन् । वित्तीय क्षेत्रमा पनि अस्थिरता देखिन्छ । त्यसैले यी समग्र पक्षमा सुधार ल्याएमा यस्ता कार्यक्रम निकै सहयोगी हुन्छन् । यद्यपि फोरमले नेपालको विकास चाहना र लगानीको अपेक्षा र क्षेत्रलाई उजागर गर्ने अपेक्षा गर्न सकिन्छ । फोरमबाट प्राप्त पृष्ठपोषण र चासोलाई सरकारले लिनुपर्छ र त्यसलाई सम्बोधन पनि गर्नुपर्छ अनि मात्र यस्ता सम्मेलनहरू सार्थक हुन्छन् ।